कोहलपुर: कोहलपुर–२स्थित संघर्ष दलित महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ स्थापना दिवस सम्पन्न भएको छ । मर्यादित व्यवसाय, प्रविधिमैत्री सहकारी भन्ने मूल नारासहित सहकारीको १६औंँ स्थापना दिवस मनाइएको हो । बिहीबार एक कार्यक्रमका बीच सहकारीको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सहकारीका अध्यक्ष जानकी सुनार र प्रमुख व्यवस्थापक तुल्सी सुनारले संयुक्त रुपमा केट काटेर स्थापना दिवस समारोहका सुरुवात गरेका थिए ।
उक्त अवसरमा बोल्दै सहकारीका अध्यक्ष सुनारले सहकारीले स्थापनाको १६औंँ बसन्त चुनौतीपूर्ण रुपमा सम्पन्न गरेको बताइन् । उनका अनुसार सहकारी अभियान समतामूलक समाज निर्माणका लागि संघर्ष जारी रहेको छ । समाज जागरणको अभियानमा जोडिएका सम्पूर्णलाई स्थापना दिवसको अवसरमा उनले धन्यवाद प्रकट गरिन् । ‘सहकारीमार्फत हामीले समाज शसक्तिकरणको लागि काम गरिरहेका छौँ । यो अभियानमा धेरै जना गोलबन्द हुनु भएको छ । अझै हाम्रो संघर्ष जारी छ । आगामी दिनमा सबैको हातेमालो आवश्यक छ,’ उनले भनिन् ।
उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य इश्वरीप्रसाद विश्वकर्माले संघर्ष दलित महिला सहकारीले महिलाहरुको क्षमता विकास र शसक्तिकरणमा महत्वूर्ण भूमिका खेलेको बताए । दलित सेवा संघ बाँकेका अध्यक्ष बुद्ध सुनारका अनुसार दलित सेवा संघले स्थापना गरेको सहकारी अहिले १६ औँ वर्षमा पुगेको छ । सहकारीको स्थापनाको उद्देश्य अनुरुपमा अविचलित रुपमा अघि बढ्न उनले आग्रह गरेका छन् ।
सहकारीका प्रमुख व्यवस्थापक तुल्सी सुनारका अनुसार सहकारीका कूल शेयर सदस्य २ हजार ७ सय ७८ जना रहेको बताए । सहकारीले बाल, दम्पती, जेष्ठ नागरिक बचतका साथै ऋण लगानीसमेत गरिरहेको उनले बताइन् । सहकारीको वार्षिक कारोबार १२ करोड रुपैयाँ रहेको छ । सहकारीले १६ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्