कोहलपुरमा खानेपानी र सरसफाइ स्वच्छताबारे अन्तरक्रिया



कोहलपुर :  कोहलपुर नगरपालिका स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता र सिकाइ आदानप्रदान एवम् पैरवी सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोहलपुर नगरपालिका र लुमन्तिको सहकार्यमा सन २०२० देखि सञ्चालनमा आएको आयोजनाबारेमा बारेमा जानकारी दिने र सरोकारवालाहरुको भूमिकाको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।


अन्तरक्रियामा सहभागीहरुले कोहलपुर नगरपालिकामा रहेका समस्या समाधानको लागि विभिन्न समस्या सरोकारवालाहरुलाई सुनाएका थिए । कार्यक्रममा अन्तरक्रियाका साथै लुमन्ति र सहकर्मी समाजले अहिलेसम्म गरेका काम,उपलब्धी , चुनौती र सिकाइका विषयमा जानकारी गराइएको थियो । उक्त अवसरमा लुमन्तिका कार्यकारी निर्देशक सूर्य कुमार खड्काले आफ्नो संस्थाले गरेको उपलब्धीहरुको प्रस्तुती गरेका थिए । परियोजना अन्तर्गत लुमन्तिले पाँच वटा उपलब्धी हासिल गरेको उनले बताए ।

खड्का अनुसार खानेपानी, सरसफाई तथा स्वच्छता (वाश), योजना, नीति,नियम, क्षमता अभिवृद्धि, रणनीतिक योजना,निर्देशिका निर्माणमा सहजीकरण तथा वाश योजना तर्जुमा गरी नगरपालिकालाई हस्तान्त्रण गरिएको छ । यस्तै दिसाजन्य लेदो व्यवस्थापनको विस्तृत(डिपीआर) परियोजना तयार गरी हस्तान्त्रण गरिएको र कोहलपुरमा ४ वटा( साना सहरी,विराट,शम्शेरगन्ज सिमरी) खानेपानी तथा सरसफाई योजनाहरु ,खानेपानी सुरक्षा योजना र खानेपानी सुधार योजना तयार गरी हस्तान्त्रण गरिएको खड्काको भनाइ छ ।
यसैगरी कोहलपुर साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाको समन्वयमा बसोबास महिला संघर्ष दलित महिला बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा २५० विपन्न घरधुरीमा सुलभ कर्जा मार्फत धारा जडान गरिएको यस्तै विभिन्न सरकारी कार्यालय र कोहलपुर नगरपालिका तथा खानेपानी आयोजनाको समन्वयमा १३९८ घरमा धारा जडान गरिएको उनले बताएका थिए । यस्तै सहकर्मी समाजले पनि आफ्नो प्रतिवेदन प्रस्तुत गरेको थियो ।

उक्त अवसरमा सरोकारवाला निकायहरुको सहभागितामा अन्तरक्रिया सम्पन्न भएको थियो । उक्त अवसरमा बोल्दै जन ज्ञान ज्योति माध्यमिक विद्यालयकी प्रधानाध्यापक सुमित्रा न्यौपानेका अनुसार विद्यालयमा छात्रछात्रामैत्री शौचालय र खानेपानीको व्यवस्था नहुदाँ समस्या छ । उनले विद्यार्थी संख्याको आधारमा खानेपानी र शौचालयको व्यवस्था हुनुपर्ने माग गरिन् ।

उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक इश्वरीप्रसाद विकले कोहलपुर नगरपालिकामा रहेका विद्यालयमा खानेपानीको व्यवस्था भएपनि शुद्ध खानेपानीको अभाव रहेको बताए । उनका अनुसार आगामी दुई वर्षमा कोहलपुर नगरपालिका नगरपालिकामा रहेका विद्यालयहरुमा शुद्ध खानेपानी र गुणस्तरीय शौचालयको व्यवस्था गर्नेछ । कार्यक्रम समापन सत्रमा बोल्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुर नगरपालिका क्षेत्रको शैक्षिक क्षेत्रको विकासमा धेरै कुरा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनका अनुसार कोहलपुरका नगरपालिकाको समृद्धिका लागि नीतिगत व्यवस्थामा ध्यान दिइएको छ । उनले अहिलेपनि बालमैत्री, अपांगता तथा छात्रछात्रामैत्री संरचना नभएकोले बजेट र नीतिमार्फत संरचना निर्माण गर्ने योजना रहेको उनको भनाइ थियो । कोहलपुर नगरपालिका स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता र सिकाइ आदानप्रदान एवम् पैरवी सम्बन्धि अन्तरक्रिया कार्यक्रममा कोहलपुर नगरपालिकाका जनप्रतिनिधि, विद्यालयका शिक्षक तथा संस्थाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७९ फागुन १९ गते शुक्रबार