विकासमा राजनीति नगरौँः मन्त्री केसी



बाँके, लुम्बिनी प्रदेश सरकारकी आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री कृष्णा केसी (नमुना)ले विकासमा कसैले राजनीति गर्न नहुने बताएकी छिन् । खजुराको सैनिकमा सोमबार ४१औँ मगर संघ स्थापना दिवस तथा मगर एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।


मन्त्री केसीले विकासमा राजनीति नभएर सबैले सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् । ‘विकासमा राजनीति होइन, सबैको सहकार्य अहिलेको आवश्यकता हो,’ उनले भनिन्, ‘म पनि जुनसुकै राजनीतिक दलमा रहे पनि विकासमा राजनीति गर्दिनँ । विकासका काममा सबैसँग समन्वय र सहकार्य गर्छुँ ।’ जिल्लाकै अर्को स्थानबाट निर्वाचन जिते पनि खजुरा क्षेत्रको विकासमा आफूले पहल गर्ने मन्त्री केसीले प्रतिबद्धता व्यक्त गरिन् । ‘खजुरा क्षेत्र मेरो राजनीतिको आधारभूमिसमेत हो । मैले खजुराबाट नै राजनीति सुरु गरेकी हुँ,’ उनी भन्छिन्, ‘खजुरा क्षेत्रको बारेमा म जानकार छुँ । स्थानीय सरकारसँग सहकार्य र समन्वय गरेर यहाँको विकासको लागि पहल गर्छुँ ।’

आफू अहिले केही गर्नसक्ने स्थानमा पुगेको भन्दै मन्त्री केसीले खजुरासहित बाँकेका लागि आफूले गर्नसक्ने भूमिका निभाउन तयार रहेको बताए । ‘अहिले म केही भए पनि गर्नसक्ने ठाउँमा पुगेकी छुँ । सबैको सहकार्यमा म काम गर्छुँ’ उनले भनिन्, ‘खजुराको स्थानीय सरकारले गर्न नसक्ने काम प्रदेशबाट गर्न तयार छुँ ।

प्रदेशबाट पनि हुन नसक्ने कामको समन्वय संघीय सरकारसँग गरेर गर्ने प्रतिबद्धता जनाउन चाहान्छुँ ।’ अर्को प्रसंगमा मन्त्री नमुनाले नेपालमा अहिलेको व्यवस्था परिवर्तनमा मगर समुदायको समेत महŒवपूर्ण भूमिका रहेको बताइन् ।
नेपालमा विभिन्न कालखण्डमा भएका व्यवस्था परिवर्तनमा मगर समुदायको भूमिका बिर्सन नहुने भन्दै उनले भनिन्, ‘प्रजातन्त्रदेखि गणतन्त्र आउँदासम्म उहाँहरुको भूमिका धैरे छ ।’ नेपालमा मात्र नभएर विदेशी भूमिमा समेत मगर समुदायको आफ्नै प्रतिष्ठा रहेको मन्त्री केसीले दाबी गरिन् ।

प्रकाशित मिति : २०७९ फागुन १६ गते मंगलबार