कोहलपुर, कोहलपुर नगरपालिका वडा नम्बर १० मा नापी शुभारम्भ भएको छ । सोमबार एक औपचारिक कार्यक्रमका बीच वडा नम्बर १० मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा वितरणअन्तर्गत नापी शुभारम्भ गरिएको हो ।
नापी शुभारम्भ भएसँगै वडा नम्बर १० मा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा वितरणको प्रक्रिया सुरु भएको छ । वडा नम्बर १० मा रहेका लक्षित वर्गहरुको भूमि आयोग, नापी कार्यालय र वडाबाट खटिएका प्राविधिकहरुले पहिलो चरणमा जग्गा नापको काम गर्नेछन् । त्यसपछि प्रक्रियाअनुसार जग्गा वितरण हुने वडा नम्बर १० को कार्यालयले जनाएको छ । कोहलपुर नगरपालिका वडा नम्बर १० की वडाध्यक्ष गौरा भट्टराईले लामो समयको प्रयासपछि जग्गा नापी गर्ने प्रक्रिया सुरु भएको बताइन् । नापीको प्रक्रिया सकिएपछि बस्ती तथा टोलस्तरमा गएर जग्गाधनी पूर्जा वितरण गरिने उनको भनाइ छ ।
यस्तै उनले नापी कार्यमा सहयोग गरिदिन सम्पूर्ण वडावासीलाई अनुरोध गरिन् । उक्त अवसरमा बोल्दै भूमि आयोग बाँकेका अध्यक्ष श्रवण यादवले जिल्लाभरि रहेको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या समाधानका लागि आयोग लागिपरेको बताए । वर्षौंदेखि जग्गा तथा पूर्जाविहीन भएका व्यक्तिहरुले अब सरकारबाट लालपुर्जा प्राप्त गर्नेछन् । ‘सरकारले सबैलाई लालपुर्जा दिन्छ । त्यसका हामीले काम सुरु गरिसकेका छौँ । जिल्लाका सबै पालिकामा काम गर्छौं । कोहलपुर उच्च प्राथमिकतामा छ,’ उनले भने ।
यसैगरी नापी कार्यालय बाँकेका प्रमुख सहदेव सुवेदीले कर्मचारीलाई तोकिएको जिम्मेवारीअनुसार काम गर्न आग्रह गरे । यहाँ रहेको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न नापी कार्यालयले विगतदेखि सहयोगी भूमिका खेल्दै आएको छ । उनले काम गर्ने क्रममा कुनै पनि प्राविधिक समस्या आएमा कार्यालयमा जानकारी गराउन पनि आग्रह गरे । भूमि आयोग बाँकेकी सदस्य मीना सिग्देलका अनुसार लामो समयको प्रयासपछि कोहलपुर नगरपालिका वडा नम्बर १० मा आयोगले काम सुरु गरेको छ । वडा नम्बर १० मा रहेको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या अब छिट्टै समाधान हुने उनले बताइन् ।
वडा नम्बर १० का वडा सदस्य भीम पौडेलले पहिलोपटक नापीको काम हुने बताए । त्यसपछि अन्य प्रक्रिया सुरु हुने उनको भनाइ छ । वडा नम्बर १० मा सात हजार तीन सय ७७ जनसंख्या छ । तीमध्ये भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको संख्या सात सय ५० जना रहेको उनले बताए । सम्पूर्ण प्रक्रिया पूरा भएपछि सबैले लालपुर्जा प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्