लागूऔषधविरुद्ध अभियान सञ्चालन गर्दै कोहलपुर



कोहलपुर, कोहलपुर नगरपालिकाले लागूऔषध दुव्र्यसनविरुद्ध अभियान नै सञ्चालन गर्ने भएको छ । कोहलपुरमा प्रमुख समस्याको रुपमा रहेको लागूऔषध दुव्र्यसन रोकथाम तथा सचेतनाका लागि अभियान नै सञ्चालन गर्ने भएको हो ।


कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले लागूऔषध मुक्त समाज र समृद्ध कोहलपुरका लागि अभियान सञ्चालन गरिने बताइन् । अहिले कोहलपुर नगरपालिकाले एक महिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ । कोहलपुर नगरपालिकाको सहयोगमा लागूऔषध दुव्यर्सन न्यूनीकरणसम्बन्धी सचेतनामूलक विद्यालय र कलेजस्तरीय अभिमुखीकरण तथा सडक नाटक प्रदर्शन भइरहेको छ । ‘पहिलो चरणमा विद्यालय र कलेज स्तरमा अभिमुखीकरण भइरहेको छ । अहिले विद्यार्थीलाई लक्षित गरिएको छ । कतिपय ठाउँमा म पुगेको छुँ,’ उनले भनिन्, ‘अब अभियान कै रुपमा सञ्चालन गर्ने तयारी भइरहेको छ । अब भने अभियान गाउँगाउँमा हुनेछ ।’


रामजानकी माध्यमिक विद्यालयमा भएको औषधविरुद्ध महसुस सडक नाटक प्रदर्शन तथा सचेतना कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । लागूऔषध दुव्र्यसनविरुद्धको अभिमुखीकरण कार्यक्रम नगरपालिकाको सहयोगमा समाज सेवा संस्थाले आयोजना गरिरहेको छ । संस्थाका अध्यक्ष विनोद थापाका अनुसार हालसम्म कोहलपुर क्षेत्रका ३० वटा विद्यालय र कलेजमा अभिमुखीकरणसँगै सडक नाटक प्रदर्शन सम्पन्न भइसकेको छ । उनले भने, ‘अभियान निरन्तर सञ्चालन भइरहेको छ । हामीले धेरैभन्दा धेरै विद्यालयमा कार्यक्रम गर्ने योजना बनाएका छौँ । अभियान निकै प्रभावकारी देखिएको छ ।’

रामजानकी माध्यमिक विद्यालयमा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल कालुराम चौधरीले लागूऔषधविरुद्धको सडक नाटक निकै प्रभावकारी रहेको बताए । आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जनचेतनामूलक कार्यक्रम सिकाएकोमा धन्यावाद व्यक्त गरे । आगामी दिनमा यस्ता कार्यक्रमहरुमा सहकार्य गर्दै जाने उनले बताए । उक्त सडक नाटक प्रदर्शन तथा अभिमुखीकरणमा कक्षा ८ देखि १० कक्षामा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७९ फागुन १० गते बुधबार