कोहलपुर : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत चिकित्सकहरुद्धारा २५ प्वाइन्ट रगत संकलन गरिएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर (होप्स)द्धारा आयोजित रक्तदान कार्यक्रममा २५ प्वाइन्ट रगत संकलन गरिएको हो ।
होप्सका अध्यक्ष अविशेक यादवका अनुसार २० जना पुरुष र ५ जना महिलाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा मेडिकल कलेजमा कार्यरत डाक्टर, नर्स तथा अन्य स्टाफहरुले रक्तदान गरेको अध्यक्ष यादवले बताए ।
‘ हामीले अस्पतालमा विपन्नहरुका लागि आवश्यक रगत अभाव पूर्ति गर्नको लागि यस्ता कार्यक्रम गर्दै आएका छौँ । अति दुर्गम क्षेत्रका बिरामी हाम्रा प्राथमिकतामा हुन्छन् । रगत नपाई कसैको ज्यान नजाओस् भन्ने हाम्रो उद्देश्य रहेको छ ।’ उनले भने ।
अस्पतालमा रहेका बिरामीहरुको उपचार खर्च तथा औषधी खर्च सहयोगका लागि च्यारीटी, दान तथा अन्य कार्यक्रम समेत आयोजना गर्दै आएको उनले बताए । उनले हरेक दिन मेडिकल कलेजमा उपचारत बिरामीलाई १० देखि १५ हजारसम्म औषधी सहयोग गरिने बताए ।
चालू आर्थिक वर्षमा मात्रै ६ लाख भन्दा बढीको सहयोग प्रदान गरिएको होप्सले जनाएको छ । उक्त रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र कोहलपुरको समन्वयमा सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस्