नेपालगन्जको व्यावसायिक निरन्तरता योजना बनाइँदै



नेपालगन्ज (बाँके),  नेपालगन्ज उपमहानगरपालिकाको व्यावसायिक निरन्तरता योजना बनाइँदैछ । विपद्को समयमा पनि सुचारु गर्नुपर्ने सेवाहरुको निरन्तरताका लागि मुलुकमै पहिलोपल्ट नेपालगन्ज उपमहानगरपालिको योजना बनाउन लागिएको हो ।


योजना बनाउन निरन्तर कार्यशाला हुँदै आएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोग र सिडिएमको सहभागितामा नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्राजेक्ट) अन्तर्गत मंगलबार पनि कार्यशाला गरिएको छ । यो परियोजना वडा नम्बर ३ र ७ मा सञ्चालित छ । कार्यशालामा नेपालगन्ज उपमहानगरपालिकाअन्तर्गत वातावरण तथा सरसफाई शाखाका इञ्जिनियर प्रकाश डिसीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

विपद्को समय र अन्य अवरोधहरुमा प्रशासनलाई उत्थानशील बनाई निरन्तरताका लागि रणनैतिक गतिविधि कार्यान्वयनसहितको योजना तयार गर्न कार्यशाला आयोजना गरिएको आपतकालीन कार्य सञ्चालन केन्द्रका व्यवस्थापन सूचना अधिकृत रुपन ज्ञवालीले बताए । कार्यशालामा सुपर प्रोजेक्टका परामर्शदाता दिनेशचन्द्र जोशीले विपद् व्यवस्थापनसम्बन्धी व्यावसायिक निरन्तरता योजनाका विषयमा प्रस्तुतिकरण गरेका थिए । त्यस क्रममा विपद्का बेला आवश्यकीय सेवा निरन्तरताका लािग विभिन्न संयन्त्र बनाई कसरी काम गर्न सकिन्छ भन्ने विषयमा समूहगत छलफल पनि समेत गरिएको छ ।

यो योजना बनाउनुको उद्देश्य जोखिम न्यूनीकरणका क्रियाकलाप अबलम्बन गरी पालिकाका कर्मचारीहरुको सुरक्षा र विपद्बाट हुने कार्यालय सञ्चालनका लागि आवश्यक स्रोत साधनको हानी नोक्सानी न्यूनीकरण गर्नु रहेको जोशीले बताए । यस्तै यसबाट सुव्यवस्थित ढंगले महŒवपूर्ण प्रक्रियाहरु र सेवाहरुको निरन्तरता सुनिश्चित राख्न उपयुक्त कार्य छनोट गरी मार्गदर्शन गर्नु, समयमै प्रतिकार्य, पुनर्लाभ तथा पुनर्निमाणका कार्यहरु गर्ने र सेवा प्रवाहलाई निरन्तरता दिनेलगायतका कार्यमा सहजता पुग्ने बताइएको छ ।

कार्यशालामा नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्ट, नगर उपप्रमुख कमरुद्दीन राई, प्रवक्ता प्रमोद रिजाल, विपद् समिति संयोजक समीरप्रताप सिंह, विभिन्न विषयगत समिति संयोजक, शाखाका प्रमुख र अन्य सरोकारवालाको उपस्थिति थियो । यसअघि पुस ७ र ८ गते गरिएको छलफलका आधारमा तयार गरिँदै गरिएको योजनामा मंगलबार थप छलफल र पृष्ठपोषणसहित अब आगामी कार्यशालाबाट अन्तिम रुप दिने तयारीमा रहेको सुपर प्रोजेक्टका शिव सुवेदीले बताए ।

प्रकाशित मिति : २०७९ फागुन ३ गते बुधबार