मिसन संवाददाता
नेपालगन्ज (बाँके), २४ माघ
कोहलपुर नगरपालिकाले ऐलानी जग्गा नापजाँच सुरु भएको छ । १२ नम्बर वडाबाट ऐलानी जग्गा नापजाँच मंगलबारदेखि सुरु भएको हो ।
भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउन जग्गा नापजाँच सुरु गरिएको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले जनाए । अव्यवस्थितमा फाराम भरेका र बाँकी खाली रहेको ऐलानी जमिन नापजाँच गरिने १२ नम्बरका वडाध्यक्ष वडाध्यक्ष वीरेन्द्रबहादुर शाहले जनाए । वडा नम्बर १२ मा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित एक हजार ६ सय ८० कित्ता रहेको शाहले बताए । यसअघि लुटबहादुर रावत नगर प्रमुख हुँदा वडा नम्बर–१ मा मात्रै ऐलानी जग्गा नापजाँच पूरा भएको थियो । वडा नम्बर–१ मा एक हजार पाँच सय ६६ कित्ता नापजाँच भएको थियो ।
यस्तै वडा नम्बर–२ मा मुक्तिनगर, शक्तिनगर र विकास नगरको एक हजार सात सय ३० कित्ता नापजाँच भएको नगरपालिकाले जनाएको छ । वडा नम्बर–२ मा मात्रै अहिले एक हजार आठ सय ४९ कित्ता जग्गा नापजाँच सम्पन्न भइसकेको नगरप्रमुख आचार्य बताउँछन् । वडा नम्बर–२ मा ऐलानी जग्गा नापजाँचको काम पूरा भएको वडा अध्यक्ष हरिसिंह कठायतले बताए ।
‘हामी निर्वाचित भएर आएपछि नै भूमिहीन, दलित र सुकुम्बासीलाई जग्गाको स्वामित्व दिने गरी ऐलानी जग्गा नापजाँच कार्यलाई तिव्र पार्ने योजनामा थियौं,’ नगरप्रमुख आचार्यले भने, ‘बर्खायाम, त्यसपछि निर्वाचन आचारसंहिता लगत्तै दसैंतिहार जस्ता चाडबाडका कारण रोकिएको थियो । अब यो काम द्रुतगतिमा अघि बढ्छ ।’ अबको दुई÷तीन महिनामा नापजाँचको काम सक्ने गरी लागेको उनको भनाइ छ ।
यस्तै नगर उपप्रमुख संगीता सुवेदीले अब कोहलपुर नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र जमिन भएर पनि स्वामित्व नभएका अव्यवस्थित बसोबासी नागरिक जमिनका मालिक बन्ने बताइन् । ‘चुनावका बेला जनतासँग लालपूर्जा वितरण गर्ने वाचा थियो,’ उनले भनिन्, ‘त्यही वाचाअनुरूप हामी निरन्तर जनताको काममा जुटेका छौँ ।’ कोहलपुर नगरपालिका भूमि सहजीकरण समितिका संयोजकसमेत रहेका १२ नम्बरका वडाध्यक्ष शाहले ऐलानी जग्गा नापजाँचमा २१ जनाको अमिन टोली खटिएको जनाए । उनका अनुसार कोहलपुर नगरपालिकाबाट नौजना, भूमि आयोगबाट ६ जना र जिल्ला नापी कार्यालयबाट टोली प्रमुखसहित ६ जना गरी २१ जना अमिनको टोली खटिएको छ । उनले तत्काल वडा नम्बर १० मा पनि ऐलानी जमिन नापजाँच सुरु हुने बताए । कोहलपुर नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी करिब १७ हजार रहेको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्