मिसन संवाददाता
नेपालगन्ज, २० माघ
नेपालगन्ज उपमहानगरपालिकामा स्वास्थ्यजन्य फोहोर स्रोतमै वर्गीकरण गर्न थालिएको छ । उपहानगरपालिकाले आफ्नो फोहोरमैला व्यवस्थापन ऐन २०७५ मुताबिक स्वास्थ्यजन्य फोहोर स्रोतमै वर्गीकरण गर्न सचेत गराएको छ । अन्यथा ऐनअनुसार कारबाही गर्ने उपमहानगरपालिकाले चेतावनी दिएको छ । उमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालद्वारा जारी सूचनामा जोखिमयुक्त फोहोर र अन्य जोखिमयुक्त फोहोर पृथकीकरण गरी फोहोर संकलन गर्न आउने छुट्टाछुट्टै गाडीमा राख्न अनुरोध गरिएको छ ।
उपमहानगरपालिकाले ल्याण्डफिल साइटमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि अलग्गै केन्द्र सञ्चालनमा ल्याएपछि फोहोर वर्गीकरण गराउन सुरु गरेको हो । फोहोर संकलनमा उपमहानगरपालिकाले ‘स्वच्छ नेपाल हाम्रो अभियान बाँके’ नामक संस्थासँग सहकार्य गरेको छ ।
अस्पताल, पोलिक्लिनिक, क्लिनिक, औषधि पसलहरु र स्वास्थ्य संस्थाबाट निस्कने फोहोरहरुलाई स्वास्थ्यजन्य फोहोर मानिन्छ । अन्य फोहोरभन्दा संवेदनशील मानिले स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि हालसम्म उपमहानगरपालिकामा संयन्त्र निर्माण भएको थिए । स्वास्थ्यसँग सम्बन्धित संस्था तथा फर्महरुले खुलारुपमा फोहोर फाल्ने समस्या थियो । अब त्यो समस्या समाधान हुने उपमहानगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्