बर्दियामा दादुरा–रुबेला भाइरस देखियो



नेपालगन्ज (बाँके), २० माघ

बर्दियाको बढैयातालमा दादुरा–रुबेला भाइरसको संक्रमण देखिएको छ । पालिकाको वडा नम्बर १, २ र ७ मा दादुरा–रुबेला भाइरसको संक्रमण देखिएको हो ।

बिरामीको लक्षण चिन्ह शंकास्पद देखिएपछि सातवटा स्याम्पल परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला टेकु पठाइएको थियो । त्यसमा दुईजनामा दादुरा र दुईजनामा रुबेला पुष्टि भएको बढैयाताल गाउँपालिकाअन्तर्गतको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक विष्णु पौडेलले जनाए ।

दादुरा–रुबेला देखिएको क्षेत्रमा तत्काल खोप लगाउन सुरु गरिने उनले बताए । ‘आइतबारदेखि दादुरा–रुबेला संक्रमण देखिएका वडा १, २ र ७ मा खोप लगाउनु सुरु गर्छाैं,’ उनले भने, ‘त्यसपछि उपलब्ध भएसम्म पालिकाभरि यो अभियान चलाउँछौं ।’ योसँगै संक्रमितको खोजी र निगरानी गर्ने उनको भनाइ छ ।

यस्तै नेपालगन्ज मेडिकल कलेजमा उपचाररत बारबर्दिया नगरपालिकास्थित औंरीका बालकमा पनि दादुरा देखिएको छ । श्वासप्रश्वासका माध्यमबाट तीव्र गतिमा फैलिने रुबेला पुष्टि भएसँगै गर्भवती महिला सबैभन्दा बढी जोखिममा परेका छन् । यो रोगले पेटभित्रको बच्चालाई गम्भीर असर गर्न सक्ने र बच्चा अपांगता हुने जोखिम उच्च हुने चिकित्सकहरु बताउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ माघ २१ गते शनिबार