क्यान्सर अस्पतालमा आइसियुको उद्घाटन



नेपालगन्ज ।

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आइसियु कक्षको उद्घाटन गरिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले उक्त कक्षको आइतबार उद्घाटन गरेका हुन् । अस्पतालका निमित्त कार्यकारी निर्देशक कार्डियोथारासिक एण्ड भास्कुलर सर्जन डा. निरज भट्टराईका अनुसार अस्पतालमा तत्काललाई चार बेडको ‘पोजिटिभ प्रेसर’ आइसियु सञ्चालनमा ल्याइएको हो ।

उक्त आइसियु क्यान्सरका बिरामीका लागि मात्रै प्रयोग गरिने भट्टराईले बताए । डा. भट्टराईका अनुसार अस्पतालका डा. मनु भट्टराईको नेतृत्वमा आइसियु सञ्चालन हुनेछ । आइसियु नहुँदा अस्पतालमा गम्भीर अवस्थाका बिरामीहरुलाई भर्ना गर्न र गम्भीर प्रकृतिका अपरेसन गर्दा जोखिम उठाएर गर्नुपर्ने अवस्था थियो । अहिले बनेको आइसियु सञ्चालनमा आएका १० वर्षसम्मका लागि पर्याप्त हुने अपेक्षा गरिएको भट्टराईले बताए । आइसियुका लागि बेडहरु निर्मल लामा प्रतिष्ठानले उपलब्ध गराएको हो ।

उद्घाटनपछि मन्त्रीले अस्पतालको निरीक्षण पनि गरेका थिए । त्यसक्रममा डा. भट्टराइले मन्त्रीसमक्ष अस्पतालको अवस्था र आवश्यकताका बारेमा जानकारी गराएका थिए । अस्पतालमा जनशक्ति थप्नुपर्ने र ओएनएम स्वीकृतिका लागि उनले आग्रह गरेका थिए । अस्पतालमा हाल टाउको, घाँटी, मुटु, फोक्सो, रक्तनलीसम्बन्धीको क्यान्सरको उपचार विशेषज्ञ डाक्टरबाट र अन्य क्यान्सरको अनुभवी र तालिमप्राप्त चिकित्सकहरुबाट उपचार भइरहेको छ भने क्यान्सरको परीक्षणको सेवा प्रदान भइरहेको छ ।

मेडिकल अंकोलोजी, सिटी स्यानको माध्यबाट गरिने वायोप्सी, रोगको पीडा, तनावलगायतका अन्य समस्याहरुको उपचार गर्ने सेवा पनि अस्पतालमा उपलब्ध छ । केही दिनअघि अस्पतालमा लिनायक मेसिन पनि आइपुगेको छ । उक्त मेसिन सञ्चालनमा आएका क्यान्सरको विकिरणमार्फत सेकाइ गरेर हुने उपचार सेवा पनि प्रवाह हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७९ माघ ९ गते सोमबार