यतीको विमान दुर्घटनामा दुई पत्रकारको मृत्यु



नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल र पोखराको एपोस्टल एफएममा कार्यरत अनिल शाही यती एयरको विमान दुर्घटनामा परेका छन् ।

प्रेस सेन्टरका उपाध्यक्षसमेत रहेका पौडेल सेन्टरको पदाधिकारी बैठकमा सहभागी हुन शुक्रबार पोखराबाट काठमाडौं गएका थिए । १५ र १६ माघका लागि वीरगन्जमा तय भएको सेन्टरको स्थापना दिवसको तयारीबारे छलफल गरिएको शनिबारको बैठक सकेपछि शनिबारै दिउँसो २ः३० को उडानमार्फत पोखरा फर्किने जानकारी गराएका थिए ।

तर, अन्तिम समयमा उनले टिकट रद्द गरेको प्रेस सेन्टरका अर्का उपाध्यक्ष निर्मल ज्ञवालीले बताए । पौडेलले आइतबार बिहान प्रधानमन्त्रीसँग भेट गरेर दिउँसो १२स्०० बजे पोखरा आउने टिकट काटेका थिए ।

पौडेलले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण भेट नहुने भएपछि टिकट अगाडि सारेका थिए । प्रेस सेन्टरका अध्यक्ष विष्णुप्रसाद सापकोटाले १२ बजेका लागि टिकट लिएको जानकारी गराएका पौडेलले टिकट अगाडि सारेकोबारे आफूलाई जानकारी नभएको बताए । पौडेल कास्कीलाई कर्मथलो बनाएर पत्रकारिता गर्दै आएका थिए ।

माओवादी नेता कृष्णबहादुर महरा अर्थमन्त्री छँदा प्रेस सल्लाहकारको भूमिकामा रहेका उनी कास्की हटलाइन दैनिकका सम्पादक थिए । उनका श्रीमती र तीन वर्षीय छोरा छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ माघ २ गते सोमबार