बालसुधार गृहबाट बालक फरार प्रकरणः छानबिन समिति गठन



नेपालगन्ज ।

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ मा रहेको जयेन्दु बाल सुधार गृहबाट चारजना भागेको प्रकरणबारे छानबिन गर्न समिति गठन गरिएको छ । सुधार गृहमा रहेका चारजना बालक बिहीबार फरार भएपछि त्यस विषयमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिमा अनुसन्धान विभाग, प्रहरी र कारागारका प्रतिनिधि सम्मिलित छन् । सहायक प्रमुख जिल्ला अधिकारी केसीले आफ्नो संयोजकत्वमा समिति गठन भएको र सात दिनभित्र प्रतिवेदन दिन समय तोकिएको जानकारी दिए । आइतबारबाट उक्त विषयको अनुसन्धानको काम सुरु गर्ने उनले बताएका छन् । अपराधमा मुछिएका बालकहरुलाई सुधार गर्ने उद्देश्यले महिला तथा बालबालिका मन्त्रालयअन्तर्गत सुधार गृह सञ्चालित छ ।

सुधार गृहबाट फरार हुनेहरुमा उमेर १८ वर्षभन्दा कम भएकै बेला जबरजस्ती करणी मुद्दामा सजाय पाई सुधार गृहमा पठाइएका धर्म थापा, कृष्ण नगरकोटी र अविनाश पुन तथा कर्तव्य ज्यान मुद्दाका पुरन चौधरी रहेका छन् । फरारहरु बसेको कोठाको भेन्टिलेटरको ग्रीलको नट खोलेर भागेका सुधार गृह स्रोतले जनाएको छ । उनीहरु सबैको उमेर १८ वर्षभन्दा माथि छ ।

फरार भएकाहरु यसअघि पनि सुधारगृहभित्रै बदमासीमा संलग्न रहेका स्रोतले जनाएको छ । उनीहरुले दसैंभन्दा केही दिन अघि पनि बन्दीगृहमा रहेका केही बालकहरुलाई कुटपिट गर्नुका साथै तोडफोड पनि गरेपछि उनीहरुलाई केही दिन जिल्ला प्रहरी कार्यालयमा राखिएको स्रोतले जनाएको छ ।

सुधारगृह प्रशासनले उनीहरुलाई उमेर बढी भइसकेको अवस्थामा कारागार चलान गरिदिन आग्रह गरे पनि प्रहरीले मानवअधिकारको पक्ष देखाएर त्यसो गर्न नमानेको बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ पुस १६ गते शनिबार