12 September 2024  |   शुक्रबार, भदौ २८, २०८१

खयरभट्टी क्षेत्रमा विद्युतीकरण गर्न सांसद नमुनाको पहलमा बजेट स्वीकृत

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, पुस ७, २०७९  

लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमुना)को पहलमा अति विकट मानिने राप्तीसोनारी गाउँपालिका–४ मा पर्ने खयरभट्टी क्षेत्रमा विद्युतीकरण हुने पक्का भएको हो । पहिलोपटक उक्त क्षेत्रको लागि तीन करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । सांसद नमुनाका अनुसार केही दिनमै खयरभट्टी क्षेत्रमा विद्युतीकरणका लागि टेण्डर आह्वान हुनेछ ।

बाँके ।

राप्तीसोनारी गाउँपालिकाको अति विकट मानिने खयरभट्टी क्षेत्रमा विद्युतीकरणको लागि बजेट स्वीकृत भएको छ । उक्त क्षेत्रको विद्युतीकरणका लागि पहिलोपटक तीन करोड ५० लाख रुपैयाँ स्वीकृत भएको हो ।

नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज डिभिजन कार्यालयका प्रमुख सुरज गौतमले बजेट स्वीकृत भएर आएको जानकारी दिए । ‘माथिल्लो निकायबाट खयरभट्टी क्षेत्रमा विद्युतीकरणको लागि बजेट स्वीकृत भएर आएको छ,’ उनले मिसन टुडेसँग भने, ‘अब नेपालगन्ज वितरण केन्द्रलाई टेण्डर आह्वान गर्ने बाटो खुलेको छ ।’

केही दिनमा नै खयरभट्टी क्षेत्रमा विद्युतीकरणका लागि टेण्डर आह्वान हुने कार्यालय प्रमुख गौतमले बताए । सकेसम्म चालु आर्थिक वर्षभित्रै सो क्षेत्रमा विद्युतीकरणको काम सम्पन्न हुनेगरी टेण्डर आह्वान गरिने उनले दाबी गरे ।
‘बजेट स्वीकृत भएर आइसकेको हुनाले छिट्टै टेण्डर आह्वान हुन्छ,’ कार्यालय प्रमुख गौतमले भने, ‘सकेसम्म चालु आर्थिक वर्षभित्रै काम सम्पन्न हुनेछ । अब वितरण केन्द्रले टेण्डरको प्रक्रिया अगाडि बढाउन सक्छ ।’

नेपालगन्ज वितरण केन्द्रले तयार पारेको अनुमानित बजेटसहितको फाइल बोकेर काठमाडौं पुगेकी प्रदेश सांसद कृष्णा केसी (नमुना) विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उक्त फाइल पेश गरेकी थिइन् । काठमाडौंमै रहेकी सांसद नमुनाले खयरभट्टी क्षेत्रमा विद्युतीकरणको लागि बजेट पक्का भएको जानकारी दिइन् । ‘बजेटका लागि पेश गरिएको फाइल पास भएर तीन करोड ५० लाख रुपैयाँ स्वीकृत भएको छ,’ उनले भनिन्, ‘खयरभट्टी क्षेत्रमा विद्युतीकरण हुने पक्का भएको म त्यसैमा खुसी छुँ ।’

खयरभट्टीसम्म करिब २२ किलोमिटर ‘११ केभी प्रसारण लाइन’ र ४.३ मिटर वितरण लाइन विस्तार गर्न तथा तीन थान ट्रान्सफर्मर जडानका लागि बजेट स्वीकृत भएको सांसद नमुनाले जानकारी दिइन् ।

त्यस क्षेत्रमा बसोबास गर्ने करिब चार सय घरधुरीलाई विद्युत् सेवा पु¥याउन विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रबाट विद्युतीकरणको काम अगाडि बढ्नेछ । राप्तीसोनारी गाउँपालिका–४ मा पर्ने भारतसँग सीमा जोडिएको अति विकट खयरभट्टीलगायतका गाउँहरुमा अझै पनि राज्यका आधारभूत सुविधाहरु पुग्न सकेका छैनन् ।

उक्त क्षेत्रमा खानेपानी, टेलिफोन, सडकलगायतका कामहरु समेत धमाधम अगाडि बढिरहेको सांसद नमुनाले जानकारी दिइन् । ‘खानेपानीका लागि अहिले काम भइरहेको छ । टेलिकमको टावर राख्ने कुरासमेत चलिरहेको छ,’ उनले भनिन्, ‘बिजुली बत्ती पुग्नेबित्तिकै टावर खडा हुन्छ ।’

प्रकाशित मितिः बिहिबार, पुस ७, २०७९     12:30:08 PM  |