पालिकाभित्र अभिभावकविहीन बालबालिकाको अभिभावक बन्दै गाँस, बास र कपाससहित पढाइको समेत जिम्मा खजुरा गाउँपालिकाले लिन थालेको छ । सोही कार्यका लागि पालिकाले चालु आर्थिक वर्षमा बजेटसमेत छुट्याएर अभिभावकविहीन बालबालिका राख्नको लागि आवासीय भवन निर्माण गर्दैछ ।
बाँके ।
खजुरा गाउँपालिकामा अभिभावकविहीन बालबालिकाका लागि आवासीय भवन बन्ने भएको छ । पालिकाभित्रका अभिभावकविहीन बालबालिकाको संरक्षणका लागि आवासीय भवन निर्माण गर्न लागिएको हो ।
आवासीय भवनको मंगलबार गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विक, उपाध्यक्ष मञ्जु मल्ल र प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्यायले सामूहिकरुपमा शिलान्यास गरेका छन् । वडा नम्बर २ को ए गाउँस्थित गौरीनगरमा आवासीय भवन बन्न लागेको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा भवन निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
भवन शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष विकले समयमै भवन निर्माणको काम सक्न निर्माण कम्पनीलाई आग्रह गरे । ‘गाउँपालिकाभित्रका सबै योजनाका काम समयभित्रै सक्ने निर्माण व्यवसायीलाई सम्मान र पुरस्कृत गरिन्छ,’ उनले भने, ‘समयमै काम नसक्नेलाई समय थपिँदैन । त्यसैले यहाँको भवन पनि समयमै सम्पन्न हुन्छ भन्ने मलाई लाग्छ ।’
गाउँपालिकाले अभिभावकविहीन बालबालिकाको संरक्षणका लागि बजेट छुट्याएको अध्यक्ष विकले बताए । ‘पालिकाभित्र रहेका बाबु, आमा नभएका बालबालिकालाई पालिकाले नै संरक्षण गर्ने र पढाउने नीति अघि सारेको छ,’ उनले भने, ‘सोहीअन्तर्गत नै यहाँ भवन बन्न लागेको हो । अभिभावकविहीन बालबालिकाको यहाँ आवासीय पढाइ हुन्छ ।’
पालिकाभित्रका अभिभावकविहीन बालबालिकालाई गाउँपालिकाले पाल्ने र पढाउने भएपछि १८ जना बालबालिका सम्पर्कमा आइसकेको गाउँपालिका उपाध्यक्ष मल्लले जानकारी दिइन् । पालिकाभित्र ५० जनाजति बालबालिका अभिभावकविहीन भएका हुनसक्ने आँकलन गरिएको छ । ‘टुहुराको अभिभावक बन्ने प्रयास खजुरा गाउँपालिकाले गरेको हो,’ उपाध्यक्ष मल्लले भनिन्, ‘बुबा आमा नभएका बालबालिकालाई पालिकाले संरक्षण गरेर पढाइदिनका लागि बजेट छुट्याइएको छ ।’