7 September 2024  |   शनिबार, भदौ २२, २०८१

चौराहा–चप्परगौडीको साँघुरो सडकले दुर्घटना बढ्दै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, मंसिर २२, २०७९  

शुभाकर विश्वकर्मा । कोहलपुर ।

कोहलपुरस्थित चौराहा–चप्परगौडी सडकखण्ड फराकिलो नहुँदा यात्रुहरुलाई समस्या हुँदै आएको छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने उक्त सडकमा पछिल्लो समय यातायातको चाप बढ्दो छ । यातायातको चाप बढ्दै जाने र सडक साँघुरो हुँदा यहाँ दुर्घटनाको जोखिमसमेत बढ्दै गएको छ ।

तीन प्रदेशको ‘ट्रान्जिट’को रुपमा रहेको चौराहा हुँदै चप्परगौडीमा जाने सडक अन्यभन्दा साँघुरो छ । यहाँ २४सै घण्टा साना तथा ठूला सवारी साधनको बाक्लो चाप छ । सडकको एकातिर बाँके राष्ट्रिय निकुञ्जको जंगल छ । अर्कातिर नगर विकास समितिको जग्गा छ । छोटो दुरीका सवारीका कारण पनि लामो दुरीका यातायातले समस्या झेलिरहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार गत वैशाखमा उक्त सडकखण्डमा दुर्घटनाका कारण एकजना वृद्धको ज्यान गएको थियो । विपरीत दिशाबाट आइरहेको ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । सडक साँघुरो भएकै कारण मान्छेले अकालमै ज्यान गुमाउनुपर्न बाध्यता रहेको चप्परगौडीका स्थानीय प्रेम खड्काले बताए ।

त्यतिमात्रै होइन धुलो र हिलोका कारण बेलाबेलामा समस्या भोग्नु परेको उनी सुनाउँछन् । उक्त सडकखण्डमा दैनिकजसो ससाना दुर्घटना भने भइरहन्छन् । साँघुरो सडकका कारण दुर्घटनाको जोखिम बढेको चौप्परगौडीका व्यवसायी विकास कुँवरले बताए । ‘म सधै बिहान पैदलै आउने गर्छुँ,’ उनी भन्छन्, ‘सधै ओहोरदोहोर गरिरहनुपर्छ । धेरैपटक दुर्घटनाबाट बचेको छुँ । यहाँ दुर्घटनाको जोखिम छ ।’

उक्त सडकमा बाक्लो सवारी चाप र साँघुरो सडकका कारण पैदलयात्रीहरुलाई हिँड्नसमेत समस्या छ । अटो चलाउँदै आएका भीमबहादुर न्यौपानेले तीव्र गतिमा कुद्ने ठूला सवारी साधनका कारण दुर्घटनाको जोखिम रहेको बताए । यो सडक फराकिलो नबनाए ठूलो दुर्घटनाको जोखिमसमेत हुन सक्ने स्थानीय बताउँछन् ।

दुर्घटनाको उच्च जोखिम भएकै कारण यहाँ सुरक्षाकर्मीसमेत परिचालित भएको प्रहरीले जनाएको छ । साँझ र बिहानको समयमा ट्राफिक प्रहरीले ड्युटी गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले जनाएको छ ।

चौराहा–चप्परगौडी सडकमा सवारीको बाक्लो चाप हुने गरेका कारण अन्त्रभन्दा उक्त क्षेत्रलाई प्राथमिकतामा राखेर चेकजाँच गर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख हिमालय शाहले जनाए । कर्णाली, सुदूरपश्चिम र लुम्बिनीको प्रवेशद्वार भएकाले यो सडकमा सवारी साधनको चाप धेरै रहेको उनी बताउँछन् ।

साना तथा ठूला सवारी साधनलाई संयमितरुपमा सञ्चालन गर्न र पैदल हिँड्न ध्यान पु¥याउन उनले आग्रह गरे ।

प्रकाशित मितिः बिहिबार, मंसिर २२, २०७९     9:44:19 AM  |