7 September 2024  |   शनिबार, भदौ २२, २०८१

मुक्त कमैयाका समस्या सदन र सरकारमा उठाउँछुः सांसद नमुना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, मंसिर १९, २०७९  

कोहलपुर ।

बाँके लुम्बिनी प्रदेशसभा १ (१) बाट निर्वाचित प्रदेश सांसद कृष्णा केसी (नमुना)ले मुक्त कमैयाहरुका समस्याका बारेमा आफुले सांसदमा कुरा उठाउने बताएकी छिन् । मुक्त कमैयाहरुको समस्याहरुको बारेमा आफु जानकार रहेको बताउँदै उनले लुम्बिनी प्रदेशसभा र सरकारमा कुरा राख्ने बताएकी हुन् ।

मुक्त कमैया समाज बाँकेले ढकेरीमा गरेको एक कार्यक्रममा बोल्दै प्रदेश सांसद नमुनाले समस्या समाधानको लागि पुलको काम गर्ने प्रतिबद्धता जनाइन् । ‘तपाईहरुको उठाउनुभएका समस्यालाई म लुम्बिनी प्रदेशसभा र सरकारमा राख्नेछु’ उनले भनिन्, ‘तत्काल हल गर्नुपर्ने समस्या समाधानको लागि म तपाईहरुसँगै सहकार्य गरेर लाग्नेछु ।’

सरकारका तर्फबाट मुक्त कमैयाका समस्या सम्बोधन गर्नको लागि आफुले पुलको काम गर्ने उनले बताइन् । ‘यो समस्या देशैभरी भएपनि धेरै भने आदीवासी थारु समुदायको बसोबास गरेको पश्चिम तराईका जिल्लामा रहेको छ’ उनले भनिन्, ‘मुक्त कमैया घोषणा गरेर मात्र हुँदैन । अन्य समस्या समेत राज्यले सम्बोधन गर्नुपर्छ । यसका लागि आफुले सक्दो प्रयास गर्छु ।’

सोही कार्यक्रममा बाँके लुम्बिनी प्रदेशसभा १ (२) का सांसद दुर्गाप्रसाद चौधरीले समेत मुक्त कमैयाका समस्या समाधानमा आफुहरु लाग्ने
बताए । मुक्त कमैया समाज बाँकेका अध्यक्ष जोखन थारुले दुबै प्रदेश सांसदलाई आफ्ना समस्याहरु अवगत गराएका थिए ।

प्रकाशित मितिः सोमवार, मंसिर १९, २०७९     9:42:26 AM  |