सम्पन्न प्रतिनिधि तथा प्रदेशसभामा बाँकेबाट प्रतिनिधिसभामा नेकपा एमालेका सूर्य ढकाल, प्रदेशसभामा १(१) मा माओवादी केन्द्रकी कृष्णा केसी नमुना र १(२) मा नेकपा एमालेका दुर्गाप्रसाद चौधरी विजयी भएका छन् ।
नवनिर्वाचित जनप्रतिनिधिसँग यस निर्वाचन क्षेत्रका नागरिकले कस्तो अपेक्षा राखेका छन् त ? सहकर्मी शुभाकर विश्वकर्माले विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्तिसँग सुझाव तथा अपेक्षा संकलन गरेका छन् । प्रस्तुत छ सम्पादित उक्त सुझाव तथा अपेक्षा ।
केशवप्रसाद लम्साल
कोहलपुर–१२ चप्परगौडी
चुनावको नतिजा आउँदैछ । देशभरि नयाँ अनुहारको लहर चलेको छ । हाम्रो क्षेत्रमा पनि नयाँ अनुहार आउनु भएको छ । हामीले उहाँहरुबाट धेरै आशा र अपेक्षा राखेका छौँ । यहाँ पनि युवा निर्वाचित हुनु भएको छ ।
उहाँले यहाँका समस्या समाधान गर्नु हुनेछ भन्ने हाम्रो विश्वास छ । यहाँ धेरै समस्या छन् । तीमध्ये रोजगारी सबैभन्दा ठूलो समस्याको रुपमा छ ।
उहाँले यहाँको प्रतिनिधिको रुपमा रोजगारी सिर्जना गर्नुहुनेछ भन्ने अपेक्षा छ । कटान र डुवानको मारमा हामी छौँ । उहाँहरुको सक्रियतामा यो समस्या छिट्टै समाधान होस् । फोहोर व्यवस्थापन र नालाको पनि समस्या छ । त्यो पनि समाधान होस् भन्ने मेरो अपेक्षा छ ।
मोतिलाल शाही
सर्वसाधारण, कोहलपुर
मैले लामो समयदेखि निर्वाचनमा भोट हाल्दै आएको छुँ । यतिबेला पनि हाले । नेताहरुले जितेका छन् । हामीले सधै नेतालाई चुनाव जिताएर पठाउँछौँ । हाम्रो एउटै आस हो, उहाँहरुले जनताको पक्षमा काम गर्नहोस् ।
तर पनि जनताले सोचेअनुसार अहिलेसम्म केही पनि हुन सकेको छैन । यसमा हामी दुखी छौँ । देश जुन हिसाबले विकास हुनुपर्ने हो, त्यो हुन सकेको छैन । दलहरु मिल्न सकेका छैनन् ।
आफ्नो क्षेत्रको विकास र जनताको अपेक्षा पूरा गर्न योजनाबद्धरुपमा अघि बढ्नुपर्छ । यो देश समृद्ध होस् भन्ने मेरो अपेक्षा छ । देश विकासमा नयाँलाई अवसर दिनुपर्छ ।
ज्योति परियार
कोहलपुर, २
सबैभन्दा पहिला यहाँबाट जितेर जाने सम्पूर्णलाई बधाइ छ । यस क्षेत्रका समस्या तमाम छन् । यहाँको प्रमुख समस्या भनेकै रोजगारी हो । महिला सशक्तिकरण हुन आवश्यक छ । सुकुम्बासीको समस्या छ । उनीहरुलाई लालपूर्जा दिने कुरा छ । क्षेत्र नम्बर १ का अन्य समस्याको कुरा गर्ने हो भने, युवाहरु कुलतमा फसेका छन् ।
चोरीदेखि लागूऔषधको दुव्र्यसनमा परेका छन् । यी सबै समस्या समाधान हुन आवश्यक छ । जनताका अपेक्षा पनि त्योभन्दा बढी छन् ।
एउटा जनप्रतिनिधिले गर्नुपर्ने काम उहाँहरुले गर्नु हुनेछ भन्ने मेरो अपेक्षा छ । सबैभन्दा उहाँले जनताका अपेक्षा के छन् भनेर जनताकै घरदैलोमा गएर बुझ्नुपर्छ । समस्या पहिचान गरिसकेपछि प्राथमिकताको आधारमा उहाँले समस्या समाधान गर्न लाग्नुपर्छ ।
मनिराम पौडेल
कोहलपुर–५ प्रगतिनगर
हाम्रो अपेक्षा यहाँका बाटोघाटो बनोस् भन्ने छ । नेताले जनताका समस्या सुन्नुपर्छ भन्ने मेरो अपेक्षा हो । यस क्षेत्रको विकासले फड्को मारोस् । जनता नहारुन् ।
नेता जनताप्रति उत्तरदायी हुन् । जनताका समस्या तमाम छन् । ती समस्या प्राथमिकताका आधारमा समाधान हुनुपर्छ । अव्यवस्थित ठेला व्यवस्थापनमा ध्यान दिनुपर्छ ।
अव्यवस्थित बसोबासीलाई लालपूर्जा र घरबासको व्यवस्था हुनुपर्छ । रोजगारी सिर्जना गर्नेखालका कार्यक्रम पनि ल्याउनुपर्छ । जनताले राम्रा मान्छे चुनेका छन् । जनताले तपाईंप्रति गरेको भरोसा टुट्न नदिनुहोला भन्न चाहन्छु । अर्कातिर यहाँ छाडा पशु चौपायाको समस्या छ । यो समस्या छिटो समाधान होस् भन्ने मेरो मान्यता छ । वृद्धवृद्धाका समस्याका लागि गम्भीर हुनुहोला ।
डिलसरी जैसी
ज्येष्ठ नागरिक
मैले अहिलेसम्म तीनपटक भोट हाले । म दृष्टिविहीन हुँ । म आफैँ भोट हाल्दिनँ । जान्छु मात्रै । छोराले कसलाई हाल्दिन्छन् । म अहिले ८६ वर्षकी भएँ ।
म काम गर्न पनि सक्दिनँ । मेरो सहारा पनि कोही छैन । यहाँ जस्ता धेरै बेसाहारा छन् । उनीहरुको एउटा माग हो, सहारा चाहियो । घर र राज्यबाट अवहेलना भोग्न नपरोस् भन्ने । मेरो पनि चाहना त्यही छ ।
राज्यले दिने भत्ता बढाएको भए पनि हुन्थ्यो जस्तो लाग्छ । बुढाबुढीलाई रमाउने ठाउँ पनि चाहियो । बुढेसकालमा हामीले चाहेका सबै कुरा पूरा गर्न उहाँ लाग्नु प¥यो । बृद्धबृद्धाका समस्यालाई पहिलो प्राथमिकता राख्नुपर्छ । अबको पाँच वर्षसम्म उहाँहरुले जनतालाई सुविधा हुने काम गर्नुपर्छ ।
रमेश वर
युवा
यो चुनाव रोचक रह्यो । देशभरि नयाँ अनुहार आएका छन् । ती धेरै आस लाग्दा छन् ।
उनीहरुबाट अब देशको मुहार फेरिने म जस्ता तमाम युवाहरुको आशा छ । हाम्रो क्षेत्रको कुरा गर्ने हो भने मतदाताले नयाँलाई नै रोेजेका छन् । विकास गर्न सक्ने सम्भावना भएका नेताले जितेर जानु भएको छ । उहाँलाई एउटै आग्रह छ ।
युवालाई विदेश जानबाट रोक्नेखालका योजना अघि बढाउनुहोस् । यस क्षेत्रको विकासमा युवाको भूमिका महŒवपूर्ण छ । त्यसैले युवामैत्री योजना तर्जुमा गर्नुहोला ।
सुशासन कायम गर्न हजुरको भूमिका हुनेछ । जनताको आशामाथि कहिले पनि पानी नखन्याउनुहोला । अबको पाँच वर्ष तपाईंको परीक्षा पनि हो ।
माया लम्साल
महिला
निर्वाचन सम्पन्न भएको छ । हामीले भोट हालेका नेताले जितेका छन् । हाम्रो आशा भनेको हाम्रो क्षेत्रको विकास होस् भन्ने हो । सडक, खानेपानी, सिँचाइ, कृषि तथा अन्य सबै क्षेत्रको विकास गर्नुपर्छ । विशेष गरेर महिलाका विषयमा धेरै कुरा गर्नुपर्नेछ । महिलालाई नेतृत्वमा पुग्नका लागि उनीहरुको सशक्तिकरण आवश्यक छ ।
सोहीअनुसार काम गर्नुप¥यो । यस्तै हाम्रो टोलमा अहिले पनि महिला बेरोजगार छन् । उनीहरुलाई विभिन्न सीपमूलक तालिम दिनुहोला । यो क्षेत्रको विकास गर्नुहोला ।
त्यसैगरी हजुरहरुको पालामा हाम्रो क्षेत्रको विकास र समृद्धि भएको देख्न पाइयोस् । सडक राम्रो होस् । हाम्रो छोराछोरी विदेश जान नपरोस् भन्ने हाम्रो अपेक्षा रहेको छ ।
सरस्वती भट्टराई
अभियान्ता
राजनीतिक दलले अहिलेसम्म धेरै सपना देखाए । जनताले पत्याए । देशमा व्यवस्था फेरियो । जनताको अपेक्षा फेरिएन । राजनीति गर्नेहरु महलमा गए । हामी चाहिँ सधै जनता नै भइरह्यौ ।
अब नेता र जनतासँगै हुनुपर्छ भन्ने मेरो मान्यता छ । यतिमात्रै होइन, समाजमा तमाम समस्या छन् । ति समस्या समाधानका लागि जनता र नेता एकैठाउँमा बसेर छलफल र बहस गर्नुपर्छ ।
यो हाम्रो अहिलेको आवश्यकता हो । जनतालाई ठूल्ठूला सपना देखाएर चुनाव जितेका नेताले काठमाडौँ गएर आफ्नो क्षेत्र बिर्सनु भएन । अनी यहाँको समस्या समाधान हुन्छ जस्तो लाग्छ मलाई । युवालाई रोजगारी, महिलाको सशक्तिकरण र बृद्धबृद्धाका लागि सुरक्षा भत्तामा वृद्धि गरिदिनुहुनेछ भन्ने अपेक्षा छ ।