16 September 2024  |   मङ्लबार, अशोज १, २०८१

‘समृद्धि र विकास प्राथमिकता’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, मंसिर १५, २०७९  

कोहलपुर ।

प्रतिनिधि सभा सदस्य सूर्य ढकालले बाँके क्षेत्र नम्बर १ को समृद्धि र विकास आफ्नो प्राथमिकता रहेको बताएका छन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित ढकालले निर्वाचनको परिणाम घोषणा भएकै मितिदेखि आफू काममा खटिएको दाबी गरे ।

बुधबार नेकपा एमाले निर्वाचन परिचालन कमिटी क्षेत्र नम्बर १ द्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘सर्वप्रथम सम्पूर्ण नेता, कार्यकर्ता तथा सहयात्री दलका प्रतिनिधिहरुलाई धन्यवाद दिन चाहन्छु । तपाईहरुले जिताउनुभयो । आजैबाट हाम्रो काम सुरु भयो । अबको पाँच वर्ष हामी हाम्रा प्रतिबद्धता अनुसार काम गर्छौं ।’

नेकपा एमाले बाँकेका इन्चार्ज समेत रहेका ढकालले चुनावको परिणाम सार्वजनिक भएपछि तीन दिन कार्यकर्ताहरुको घरदैलोमा गएर धन्यवाद ज्ञापन गरिएको जानकारी दिए । बुधबार मात्रै क्षेत्रको नम्बर १ को लागि अत्यावश्यक आवश्यकताका बारेमा विभिन्न निकायसँग छलफल भएको उनको भनाइ थियो ।

ढकालले बुधबार दिउँसो कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका प्रबन्ध निर्देशक सुरेशकुमार कनोडिया र प्रमुख प्रशासकीय अधिकृत सुनिल कुमार सिंहसँग भेटेर राप्ती सोनारी र नरैनापुरका जनताका लागि उपचारमा छुट दिने विषयमा छलफल गरेका थिए । अति विपन्न परिवारका बिरामीहरुको उपचारमा वडाको सिफारिसमा अति विपन्न परिवारका सदस्यहरुलाई अस्पतालका तर्फबाट सहुलियत दरमा उपचारको ब्यवस्था मिलाउने विषयमा छलफल भएको सांसद ढकालले जानकारी दिए ।

यस्तै सिक्टा सिचाइँको पूर्वी नहरको काम सुरु गर्ने विषयमा छलफल भएको उनको भनाइ थियो । आफू संसदमा गएपछि यस क्षेत्रको पर्यटन, शिक्षा तथा सुरक्षाका विषयमा कानून निर्माणका लागि अग्रसर हुने उनले बताए । पूर्वाधार निर्माणको लागि समेत आफू सदैव जनताको घरदैलोमै हुने प्रतिनिधि सभा सदस्य ढकाल बताउँछन् ।

पत्रकार सम्मेलनमा बोल्दै बाँके क्षेत्र नम्बर १ (२) का लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा बहादुर चौधरीले निर्वाचनको क्रममा आफूलाई जिताउन सहयोग गर्ने सम्पूर्ण पक्षलाई धन्यवाद दिए । आफू चुनावमा होमिदा पनि आफू बदलिने छैन । आफ्नो ठाउँ बदल्ने छु भन्ने संकल्प गरेको र अब जनताको प्रतिनिधिको रुपमा पाँच वर्ष आफ्नो संकल्पमा रत्तिभर विचलित नहुने उनले प्रतिबद्धता व्यक्त गरे । सोही अवसरमा उनले आफ्नो चुनावी खर्च समेत सार्वजनिक गरेका थिए ।

लुम्बिनी प्रदेश सभा सदस्य चौधरीले आफ्नो चुनाव खर्च कुल ६ लाख ७९ हजार ८०४ रुपैयाँ भएको बताए । पत्रकार सम्मेलनमा नेकपा एमाले निर्वाचन परिचालन कमिटी क्षेत्र नम्बर १ का संयोजक बलराम भट्टराईले नेकपा एमालेलाई प्रत्यक्ष र समानुपातिकमा पहिलो दल बनाउने, उम्मेदवारलाई जिताउन भूमिका खेल्ने सम्पूर्ण पक्षलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मितिः बिहिबार, मंसिर १५, २०७९     1:27:54 PM  |