वीरेन्द्र जैसी । नेपालगन्ज ।
‘असत्यमाथि सत्यको विजय’ हिन्दु धर्मावलम्बीहरुको सबैभन्दा ठूलो चाड दसैंको सबैभन्दा ठूलो सन्देश हो । यो पर्व धार्मिक मात्रै नभइ सांस्कृतिक र सामाजिक मूल्यका दृष्टिकोणबाट पनि उत्तिकै महŒवपूर्ण छ ।
वर्षायाम सकिएर हिउँदयाम सुरु हुने समयमा पर्ने यो चाडले बाढी, पहिरो, रोगकिराको डर हुने मौसमको बिदाइ र वर्षभरिका लागि उब्जनी भएको अन्नलाई स्वागत एकसाथ गर्दछ । साथै देशविदेश र भौतिक दूरीमा रहेका आफन्तहरुको सम्मिलनको अवसर सिर्जना गर्दछ । मान्यजन र अनुजको सम्बन्ध पुनःस्मरण गराउछ । फरक पुस्ताबीचको संवाद र ज्ञान हस्तान्तरणका लागि पनि दसैं एक विशेष अवसर हो ।
उहिले संयुक्त परिवार र आयस्रोतमा सीमितताका कारण मिठो मसिनो खान, राम्रा लत्ता कपडा लगाउन एक विशेष अवसरका रुपमा यो चाडलाई लिइन्थ्यो । आफ्नो भएको अन्नबाली, वस्तुभाउ बेचेर चाड मनाउने प्रचलन थियो । अहिले परिवारका आकार सानो भएका छन् । राम्रो लगाउन मिठो खान चाडबाड नै कुर्नु पर्ने बाध्यतामा तुलनात्मक रुपमा कम मानिसहरु छन् ।
तर, परिवारका सदस्यहरु देश तथा स्वस्थानमा रोजगारीको अभावमा एक अर्काबाट भौतिकरुपले टाढा बस्नुपरिरहेको छ । भर्चुअल माध्यमबाट सम्पर्कमै रहे पनि भौतिक सम्मिलनको अनूभूति कहाँ । यस्तो समयमा दसैं पारिवारिक सम्मिलनको अवसरका दृष्टिकोणले महŒवपूर्ण चाड बन्न पुगेको छ । जागिर तथा पेसा व्यवसायको तनावबाट मुक्त भएर आफन्तहरुसँग समय बिताउन दसैंले अवसर सिर्जना गरिदिन्छ । नयाँ योजना तथा पारिवारिक सरसल्लाहको उपयुक्त अवसर पनि हो दसैं ।
समयसँगै हरेक चिजले रुप बदल्छ । दसैं मनाउने तौरतरिकामा पनि समयसँगै परिवर्तन आएका छन् । कति परिवर्तन स्वभाविक पनि छन् भने कति परिवर्तनहरु मौलिकतालाई बिर्साउने र समाजलाई लाभ नदिने खालका पनि छन् । नेपालमा विभिन्न समुदायका दसैं मनाउने विधि पनि भिन्न छन् ।
नेपालको तराई क्षेत्र र विशेषगरी बाँकेलगायत अवधि भाषी समुदायको बसेबास रहेको क्षेत्रमा दसैंलाई दुर्गाको मुर्तिपुजा र रामकथाको श्रवण गरी मनाउने गरिन्छ । यसका साथै एउटा पाटोकोरुपमा बली चढाउने प्रचलन पनि छ । पहाडी क्षेत्रमा दसैंमा मुर्तिपुजा कम तर, मेलापर्व बढी मनाइने चलन छ । बली चढाउने प्रचलन पनि छ । यसमा तात्विक भिन्नता नआए पनि दसैंको सामाजिक र तौरतरिकामा भिन्नता आएका छन् ।
दसैंको मनाउने तौरतरिकामा आएको एक परिवर्तन यो पर्व परनिर्भर हुँदै जानु हो । हिजो दसैं मनाउन चाहिने भौतिक साधनहरुमा परनिर्भरता थिएन । आफ्नो बारीमै फलेका तरकारी र अन्नपात प्रयोग हुन्थे ।
विशेषगरी पहाडी क्षेत्रमा स्थानीयरुपमै उललब्ध कमेरो र रातोमाटोले घर लिपपोत र सरसफाइ गरिन्थ्यो । एकैपटक सबै घरहरु लिपपोत गरिँदा पहाडी गाउँहरुमा अनौठो चमक थपिन्थ्यो । अहिले दशै मनाउन चाहिने साधनहरुमा देश नै परिनिर्भर छ । त्यो परनिर्भरतामा दसैं चलिरहेको छ । दसैंको लागि चाहिने नुनतेलदेखि खसीबोकाहरुसमेत बाहिरबाट आयात गर्नुपर्ने अवस्था छ ।
दसैंको महŒवलाई बिर्साउन बाधक तत्वकारुपमा मदिरा मुख्यरुपमा देखिएको छ । दसैंलाई मदिरा पिउने अवसरकै रुपमा लिनेहरु अत्यधिक छन् । बजार तथा पत्रपत्रिकामा सबैभन्दा चमकदार विज्ञापन मदिराकै हुने गरेका छन् । मदिरामा झुम्दै अमौलिक गीतहरुमा नाच्ने चलन बढेको छ । पछिल्लो पुस्तामाझ दसैंको अर्थ जुवा, तास र मदिराको मात्तिनुमा सीमित हुन थालेको छ ।
दसंै चंगाको मौसम पनि हो । आकाशमा चंगा देख्न अहिले मुस्किल पर्न थालेको छ । पिङमा चचहुई गरेर आनन्दमा निमग्न रहने युवा पुस्ता अहिले मोबाइलमा घोप्टो परिरहेको मात्रै देख्न पाइन्छ । बढ्दो आधुनिकिकरण, अस्तव्यस्त समाज, सहरीकरण, देखावटी र भट्किलो बजार, सामाजिक प्रतिस्पर्धा र देखासिकी, आफन्त–आफन्त बीचमा ईष्र्या र मुटावका कारण दसैंको मौलिकतामा ह्रास आउँदै छ ।
पुरानो पुस्ता सकिँदै जाने र नयाँ पुस्ताले आफ्नो धर्म, संस्कृति चाडवाडमा त्यति महŒव नदिने प्रचलन बढेको छ । दसैंले एक अर्का प्रतिको माया, प्रेम र सम्मान भाव जागृत गरी यसको मौलिकतालाइ बचाईराख्ने शक्ति हामी सबैलाई प्रदान गरोस् । शुभकामना !
प्रतिक्रिया दिनुहोस्