नेपालगन्ज ।
बलराम यादवको अध्यक्षातामा महेन्द्र पुस्तकालयको नयाँ कार्यसमिति चयन भएको छ । मंगलबार सुरु भएको पुस्तकालयको १७औँ अधिवेशन तथा साधारणसभाले यादवको अध्यक्षतामा कार्यसमिति चयन गरे पनि कोषाध्यक्ष र सदस्यको चयन हुन बाँकी छ । अध्यक्षमा यादवसहित उपाध्यक्षमा पंकज श्रेष्ठ, सचिवमा मणि अर्याल, सहसचिवमा ऋचा लुईँटेल निर्विरोध निर्वाचित भएका छन् ।
अध्यक्षमा चुनिएका यादव तदर्थ समितिको पनि अध्यक्ष थिए । तदर्थ समितिलाई दिइएको कार्यभारका अधिकांश कामहरु कुशलतापूर्वक निर्वाह गरेका कारण यादवलाई अध्यक्षमा निर्विरोध गरिएको भनिए पनि मुख्य पदहरुमा आन्तरिकरुपमा राजनीतिक भागबण्डा गरिएको थियो । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीमा आस्थावान्हरुलाई कार्यसमितिमा व्यवस्थापन गरिएको बुझिएको छ ।
कोषाध्यक्षमा कृष्णा पाण्डे र अजयकुमार टण्डनको उम्मेदवारी परेको छ । यो समाचार तयार पार्दासम्म उनीहरुबीच पनि सहमति गराउने प्रयास जारी छ । सहमति नभएमा बुधबार दिउँसो २ बजेदेखि मतदान गरिने निर्वाचन समितिले जनाएको छ । बुधबार १२ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ ।
पुस्तकालयको चारजना खुला सदस्यका लागि १३ जनाको उम्मेदवारी परेको थियो । त्यसमध्ये दुईजनाले मंगलबार साँझसम्म उम्मेदवारी फिर्ता लिएका थिए ।
सदस्यहरुमा कृष्णप्रसाद श्रेष्ठ, घनश्यामकुमार वैश्य, अजयसिंह सिँजापति, मोहम्मद असफाक जसगढ, हरिप्रसाद तिमिल्सेना, वीरेन्द्र जैसी, सुनिल भण्डारी, जीवराम बम, मोहम्मद आरिफ अन्सारी, ब्रजेशकुमार सिंह, जमिल अहमद सिद्दीकीले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिएकामध्ये श्यामविहारी गुप्ता र अजयकुमार चौवेले उम्मेदवारी फिता लिएका छन् ।
महिला सदस्यमा भने मीना ढकाल र अस्मिता शाह महतरा निर्विरोध निर्वाचित भएका छन् । साधारणसभाको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले पुस्ताकालयलाई अब पुरानो तरिकाले सञ्चालन गरेमा चल्न नसक्ने धारणा राखेका थिए ।









प्रतिक्रिया दिनुहोस्