क्यान्सर अस्पतालमा ढिला पुग्ने डाक्टरलाई प्रवेश रोक



नेपालगन्ज ।

खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले ढिलोगरी कार्यालय पुगेका केही डाक्टरसहित स्वास्थ्यकर्मीलाई अस्पताल परिसरमा प्रवेश रोक लगाइएको छ । मंगलबार अस्पतालमा पुगेका दुईजना डाक्टर प्रवीण गुप्ता, डाक्टर मुकेश यादव र केही स्वास्थ्यकर्मीलाई सुरक्षागार्डले ढिला गरी पुगेको भन्दै प्रवेशमा रोक लगाएका हुन् ।

सुरक्षा गार्डले अस्पताल परिसरमा प्रवेशमा रोक लगाएपछि डाक्टर र अन्य स्वास्थ्यकर्मीले गेटमा केहीबेर विवाद गरेका थिए । सुरक्षा गार्डलाई डाक्टरहरुले हप्काएको र पछि अस्पतालका मेसु डा. कृष्ण आचार्य लिन आउँदासमेत जान नमानेको अस्पताल स्रोतले बताएको छ ।

अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष टेकेन्द्र मल्लको समितिले सोमबार १० देखि ४ बजेसम्म डिउटीमा रहनुपर्ने र उक्त निर्णय कार्यान्वयन गराउन अस्पताल प्रशासनले मंगलबार सुरक्षा गार्डलाई दिएको थियो । अस्पतालका सुरक्षा गार्डले समितिको निर्णय र निर्देशन पालना गरेकोमा चिकित्सकहरुले आफ्नो अपमान भएको भन्दै अस्पताल प्रमुख डा. आचार्य लिन आउँदा पनि जान मानेनन् ।

अस्पतालका नव नियुक्त अध्यक्ष मल्लले अस्पताल विकास समितिमा नियुक्त भएपछि अस्पताल सुधारका लागि लागिपरेको र त्यसकै एक कदमका रुपमा कार्यालय समय पालनाको निर्णय गरिएको बताए । डा. प्रवीण गुप्ताले भने आफूहरुलाई १० बजेर १५ मिनेटमा पुग्दा पनि गेटमै हप्काएको र अपमान गरिएको भन्दै आपत्ति जनाए ।

स्थानीयहरुका सामू आफूहरुलाई अपमान गरिएको उनको गुनासो छ । सोमबार मात्र अस्पताल विकास समितिले सम्पूर्ण कर्मचारीहरु ड्रेस, आइडीकार्डसहित १० बजे नै कार्यालय आइपुग्नुपर्नेसमेत निर्णय गरेको थियो ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ २९ गते बुधबार