मिटर ब्याजका कारण सम्बन्धबिच्छेद



मिटर ब्याजको ऋणले सिजनाको जिन्दगीमा ल्याइरहेको बबण्डर उनीबाहेक कसैलाई थाहा थिएन । नातागोता सबैसँग उनले पैसा मागेर हैरान पारिसकेकी थिइन् । जब समस्या चरम चुलीमा पुग्यो, पर्दा खुल्यो । श्रीमान्ले सिर्जनासँग बस्न नसक्ने निर्णय गरे । अन्ततः यही भदौ १६ गते उनीहरुको सम्बन्धबिच्छेद् भयो ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

नेपालगन्ज वडा नम्बर १० भृकुटीनगरकी ३६ वर्षीया सिर्जना थापाका श्रीमान् विदेशमा थिए ।

श्रीमान्ले पैसा पठाइहाल्लान् तिरौँला भन्ने ठानेर उनले दुई वर्षअघि घर मर्मत सुधारका लागि छिमेकी विमला चन्दसँग तीनपटक गरेर साढे तीन लाख रुपैयाँ ऋण लिइन् । तर, ब्याज थियो हप्ताको पाँच प्रतिशत । त्यो पनि मिटर ब्याजमा । सिर्जनाले अनुमानै गरेकी थिइनन्, उनले लिएको ऋण कसरी उनको जिन्दगीमा बबण्डर लिएर आउँदै छ ।

उनले श्रीमान्लाई समेत जानकारी नदिएर लिएको ऋणको ब्याज तिर्न श्रीमान्ले पठाएको पैसाले भ्याउन छोड्यो । छिमेकी र आफन्तसँग माग्न थालिन् । आफन्तसँग गहना सापटी मागेर धरौटीमा राखिन् । सबै आफन्त उनले पैसा माग्न थालेपछि हैरान हुन थाले । यता उनको ऋण दिन दुईगुणा रात चौगुणा बढेको बढ्यै हुन थाल्यो । २०७८ असोजसम्म उनले ६ लाख ८० हजार रुपैयाँ नगद तिरिन् ।

त्यसले पनि उनको ऋण पूरा तिरिएन रे । १२ धुर जग्गा बैंकमा राखेर १५ लाख रुपैयाँ विमलालाई तिरिन् । तैपनि उनको ऋण तिरिएन । त्यसपछि सिर्जनाले ३० लाखको चेक विमलालाई दिइन् । उक्त चेक साटिएन, विमलाले चेक बाउन्स गराइन् । अहिले उनी बैंकको कालो सुचीमा छिन् ।

मिटर ब्याजको ऋणले सिजनाको जिन्दगीमा ल्याइरहेको बबण्डर उनीबाहेक कसैलाई थाहा थिएन । नातागोता सबैसँग उनले पैसा मागेर हैरान पारिसकेकी थिइन् । आफन्तहरुले उनले मिटर ब्याजमा ऋण लिएको थाहा पाएका थिएनन् । अरु त अरु श्रीमान्ले समेत यसबारेमा पत्तो पाएका थिएनन् । जब समस्या चरम चुलीमा पुग्यो, पर्दा खुल्यो । श्रीमान्ले सिर्जनासँग बस्न नसक्ने निर्णय गरे । अन्ततः यही भदौ १६ गते उनीहरुको सम्बन्धबिच्छेद् भयो ।

सिर्जनाकै छिमेकी पार्वती थापाले पनि विमलासँगै दुईपटक गरेर ६ लाख रुपैयाँ ऋण लिइन् । ब्याज उही हप्ताको मिटरमा । गतवर्ष पुस र चैत महिनामा हप्ताको भाका राखेर पाँच प्रतिशत ब्याजमा लिएको ऋण आठ महिनामै बढेर उनले तिर्न नसक्ने अवस्थामा पुगेको छ । पार्वतीका अनुसार करिब २६ लाख रुपैयाँ उनले तिरिसकेकी छन् । अझै २७ लाख रुपैयाँ तिर्न दबाब आइरहेको छ । छोरीलाई विदेश पठाउन लिएको ऋणले उनको जिन्दगीमा पनि बबण्डर ल्याइदिएको छ । श्रीमान् उनीदेखि आक्रोशित छन् ।

यी दुई महिलालाई मिटर ब्याजी ऋणको पासोमा पार्ने महिला एक शिक्षककी श्रीमति रहेकी पीडित बताउँछन् । सिर्जना र पार्वती मात्रै होइन अरु महिला पनि उनी (विमला) बाट पीडित रहेका पाइएको छ । समस्या आफूहरुको काबुबाहिर गएपछि पावृती र सिर्जनासहित सातजनाले साउन ३१ गते बाँके प्रहरीलाई छलफल गराइदिन निवेदन दर्ता गरे ।

प्रहरीको सुझावअनुसार भदौ १ गते प्रहरी मिटर ब्याजमा उजुरी दर्ता गरे । भदौ ५ गते जिल्ला प्रशासनमा उजुरी दिए । प्रशासनले भदौ २१ गते छलफलका लागि दुवै पक्षलाई बोलायो । अहिले विमला सम्पर्कमा छैनन् । प्रशासनले उनीहरुको उजुरी छानबिनकै क्रममा रहेको बताएको छ ।

प्रशासनमा २१ वटा उजुरी

बाँके प्रशासनमा मिटर ब्याजसम्बन्धी २१ वटा उजुरी परेका छन् । गृह मन्त्रालयले मिटर ब्याज पीडितहरुलाई उजुरी दर्ता गर्न गत साउन २८ गते सूचना जारी गरेपछि हालसम्म २१ वटा उजुरी दर्ता भएका हुन् ।

तीमध्ये तीनवटा उजुरीमाथि निर्णय भइसकेको जिल्ला प्रशासन कार्यालयका अधिकृत रामकुमार सोनखरले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हरिप्रसाद शर्माले मेलमिलाप गराउन सकिने मुद्दामा जिल्लामै टुंगो लगाउने र टुंगो नलागेका मुद्दाहरु गृह मन्त्रालयको समितिमा पठाइने प्रक्रिया रहेको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ २८ गते मंगलबार