अधिकांश महिला प्रौढ कक्षाले जीवन बदलिएको बताउँछन् । अझै पढ्ने चाहना भएकाले यस्ता कक्षा अझै सञ्चालन होस् भन्ने उनीहरुको चाहना छ । प्रौढ शिक्षापछि महिलाहरु अहिले कार्यक्रम परिचय दिनसमेत खुलेर दिन थालेका छन् । शिक्षा अभावमा उनीहरुले यसभन्दा पहिला आफ्नो परिचय दिनसमेत हिच्किचाउने गथ्र्ये ।
निशु जोशी । नेपालगन्ज ।
पढ्ने रहर हुँदाहुँदै पनि नेपालगन्ज–१९ बस्दै आएकी भीमकुमारी गुरुङले बाल्यकालमा पढ्नबाट वञ्चित भइन् । दैलेख जन्मिएकी उनको दैनिकी गोठालो जाँदैमा बित्यो । अक्षर नचिन्दा जीवनमा उनले अनेकन दुःख झेल्नु प¥यो । कति अपहेलित भइन्, त्यसको लेखाजोख छैन । उमेर ढल्किँदै गर्दा उनलाई अक्षर चिन्ने उत्साह जाग्यो र प्रौढ कक्षामा सहभागी भइन् । पहिलेजस्तै उनलाई अहिले अपहेलित हुनु परेको छैन । अर्थात अहिले उनको जीवन बदलिएको छ ।
यति मात्र होइन, पछिल्लो समय नेपालगन्जका महिलाहरुको जीवन प्रौढ शिक्षाले बदलेको छ । प्रौढ कक्षामा सहभागी भएका महिलाहरुले साक्षर भएपछि अक्षर चिन्ने, हस्ताक्षर गर्ने मात्रै नभइ व्यावसायिकरुपमा अघि बढ्नसमेत पढाइले सघाएको बताएका छन् । व्यापार, व्यवसाय गर्नुका साथै घरायसी जीवनमा समेत पढेपछि सीप काम लागेको उनीहरुको भनाइ छ ।
‘प्रौढ पढ्नका लागि म आँखा जाँच गर्न फुल्टेक्रा आँखा अस्पतालमा गएँ । तीन हजारको चस्मा किनेँ । चस्मा लगाएर रातिको एक बजेसम्म पढ्न थालेँ,’ पढाइको महŒवबारे भीमकुमारी भन्छिन्, ‘अहिले पढाइले मेरो आँखा खुल्यो । अहिले म व्यापार गर्छुँ । आफैँले हिसाब गर्छुँ । पढ्न लेख्न जान्ने भएपछि श्रीमान्ले पनि बधाइ दिनुभयो ।’
अहिले उनी एक्लैले पसल हाक्न थालेपछि उनका श्रीमान् पनि दंग छन् । गुरुङका श्रीमान् सरकारी जागिरे हुन् । तर, आजभोलि उनी श्रीमान्भन्दा बढी घरमै बसेर व्यापारबाट कमाइरहेको दाबी गर्छिन् । उनी पसलसँगै बुचरको काम गर्छिन् । बाख्रा पनि पालेकी छिन् । पहिले श्रीमान्मा भर पर्ने उनी प्रौढ कक्षापछि आत्मनिर्भर भएकी छिन् ।
उनी जस्तै नेपालगन्ज–१८ कारकाँदोमा बस्दै आएकी हिरा चौधरीको जीवन पनि प्रौढ शिक्षाले बदलिएको छ । ‘पहिले सानो तिनो खर्च आवश्यक परे श्रीमान्सँग माग्नु पथ्र्याे । आजभोलि पढ्न लेख्न जान्ने भएपछि आफैँ कमाउन थालेको छुँ,’ उनले भनिन् । उनी घरको कामसँगै सिलाइकटाइ पनि गर्छिन् । थ्रेडिङ, च्याउ उत्पादनलगायतका कामबाट समेत बेलामौकामा कमाइ गर्दै आएकी छिन् ।
उनीजस्तै यसक्षेत्रका अधिकांश महिला प्रौढ कक्षाले जीवन बदलिएको बताउँछन् । अझै पढ्ने चाहना भएकाले यस्ता कक्षा अझै सञ्चालन होस् भन्ने उनीहरुको चाहना छ । प्रौढ शिक्षापछि महिलाहरु अहिले कार्यक्रम परिचय दिनसमेत खुलेर दिन थालेका छन् । शिक्षा अभावमा उनीहरुले यसभन्दा पहिला आफ्नो परिचय दिनसमेत हिच्किचाउने गथ्र्ये ।
५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइयो
५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस बाँकेमा पनि मनाइएको छ । दिवसको अवसरमा शिक्षाका लागि नागरिक सञ्जाल (एनसीइ) बाँकेले बिहीबार कारकाँदोमा एक कार्यक्रम गरेको छ । जयपृथ्वी सामुदायिक अध्ययन केन्द्रको सहकार्यमा साक्षरताको महŒवबारे सरोकारवालाबीच छलफल कार्यक्रम गर्नुका साथै नवसाक्षर महिला वक्तृत्वकला प्रतियोगिता गरिएको एनसीइ बाँकेका अध्यक्ष तारा खनालले बताए ।
प्रतियोगितामा १२ जना सहभागी भएकोमा भीमकुमारी गुरुङ प्रथम, रमा गुरुङ द्वितीय, सुवेक्क्षा रैदास तृतीय र हिरा चौधरीले सान्त्वना स्थान हासिल गरिन् । जीवनभर सिकिरहने प्रक्रिया भएकाले शिक्षा लिनका लागि जुनसुकै उमेरमा पनि पछि हट्न नहुने कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिए ।
प्रिति चौधरी सम्मानीत
शिक्षाका लागि नागरिक सञ्जाल बाँके र जयपृथ्वी सामुदायिक अध्ययन केन्द्र नेपालगन्जले नेपालगन्जकी प्रिति चौधरीलाई सम्मान गरेको छ । साक्षरता कक्षामा सहभागी भएर कक्षा १२ उतीर्ण गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै चौधरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको शिक्षाका लागि नागरिक सञ्जाल बाँकेका अध्यक्ष तारा खनालले बताए । उनले जयपृथ्वी सामुदायिक अध्ययन केन्द्रमै साक्षरता कक्षा लिएकी थिइन् ।









प्रतिक्रिया दिनुहोस्