नेपालगन्ज विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प



बाँके ।

नेपालगन्ज विमानस्थलसहित पश्चिमका तीनवटा व्यस्त विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प भएको छ । ढुवानी व्यवसायीले भाडा वृद्धिको माग गर्दै नेपालगन्ज, धनगढी र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन आपूर्ति रोकेका हुन् ।

नेपाल आयल निगमको नेपालगन्ज डिपोले सबै हवाई सेवा प्रदायक कम्पनीलाई अत्यावश्यकबाहेक इन्धन दिन नसकिने भन्दै पत्राचार गरिसकेको छ । इन्धन ढुवानी हुन नसकेका कारण काठमाडौंबाटै हवाई इन्धन भरेर उडान गर्न सबै हवाई सेवा प्रदायक कम्पनीलाई पत्राचार गरिसकेको नेपालगन्ज डिपोका प्रमुख दिपकप्रसाद घिमिरेले जानकारी दिए ।

‘यही अवस्था रहे जहाजलाई इन्धन दिनसक्ने अवस्था छैन । त्यसैले हामीले सकेसम्म काठमाडौंबाट नै जहाजलाई चाहिने इन्धन भरेर आउन भनेर पत्राचार गरिसकेका छौं,’ उनले मिसन टुडेसँग भने, ‘इन्धन ढुवानी नहुँदासम्म यहाँबाट दिनसक्ने अवस्था छैन ।’

इन्धनको मौज्दात सकिएको र थप इन्धन पनि उपलब्ध नभएपछि विमान सेवा प्रदायक कम्पनीलाई यस्तो सूचना जारी गर्नु परेको नेपालगन्ज डिपोले जनाएको छ । सात दिनयता भारतबाट ढुवानी व्यवसायीहरुले हवाई इन्धन ढुवानी गर्न रोकेका छन् । नेपालगन्ज डिपोले भारतको लखनउबाट हवाई इन्धन ल्याउने गरेको छ । हवाई इन्धन ढुवानीको लागि डिपोअन्तर्गत नौवटा ट्यांकर रहेको डिपो प्रमुख घिमिरेले जानकारी दिए ।

‘दैनिक हामीले यहाँबाट २०-२४ किलोलिटर हवाई इन्धन बिक्री गर्दै आएका थियौं । अहिलेलाई त्यो सम्भव देखिँदैन,’ उनले भने, ‘अहिले हामीसँग एक सय ७० किलोलिटर हवाई इन्धन मात्र मौज्जाद छ ।’ अहिले रहेको इन्धन आपतकालीन अवस्थाको लागि राख्नुपर्ने नेपालगन्ज डिपोले जनाएको छ । अति व्यस्त नेपालगन्ज विमानस्थलमा काठमाडौंबाटै हवाई इन्धन बोक्नु पर्ने सर्कुलरले विमान कम्पनीहरु र यात्रुलाई थप आर्थिक भार परेको छ ।

अतिरिक्त मात्रामा इन्धन बोक्दा काठमाडौंबाट हुने उडानमा यात्रु संख्या र कार्गो कटौती गर्नु पर्ने र यसले सञ्चालन खर्च, भाडा दुवैलाई हानी पु¥याउने हवाई सेवा प्रदायक कम्पनीहरुले जनाएका छन् । नेपालगन्जबाट मात्र हाल काठमाडौं र पोखराको लागि मात्रै एक दर्जन बढी उडान हुने गरेका छन् । त्यसका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी जिल्लामा दुई दर्जन बढी उडान हुने गरेको नेपालगन्ज विमानस्थलले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ २५ गते शनिबार