दुर्घटनाको समयमा टाटाका पूर्वअध्यक्षको गाडी रफ्तारमा, सिटबेल्ट पनि लगाएका थिएनन्



एजेन्सी ।

टाटा समूहका पूर्वअध्यक्ष साइरस मिस्त्रीको मुम्बई–अहमदाबाद राजमार्गमा आइतबार दिउँसो सडक दुर्घटनामा मृत्यु भयो । उनी त्यस समय गुजरातको उदवाडामा बनेको पारसी मन्दिरबाट फर्किरहेका थिए ।

५४ वर्षीय मिस्त्री सबार मर्सिडिज जीएलसी २२० नामक कार महाराष्ट्रको पालघर नजिक सडकको डिभाइडरसँग ठोक्किएको हो । दुर्घटनामा मिस्त्री र उनका मित्र जहांगीर पण्डोले (४९) को मृत्यु भएको छ भने कार चलाउँदै गरेकी महिला डा. अनायता पण्डोले र उनका श्रीमान दारियस पाण्डोले भने गम्भिर घाइते छन् ।

ड्यारियस जेएम फाइनान्सियलका सीईओ हुन् । साइरस मिस्त्री सबार मर्सिडिज दुर्घटनाको समयमा करिब १३४ किलोमिटर प्रतिघण्टाको गतिमा यात्रा गरिरहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

कारको अन्तिम सीसीटीभी फुटेजले पनि यही कुरालाई पुष्टि गर्छ । आइतबार दिउँसो २ः२१ बजे कार चरौतीको चेकपोष्टबाट अघि बढेको थियो । दुर्घटना भएको स्थान त्यहाँबाट २० किलोमिटर टाढा छ र कारले यो दुरी ९ मिनेटमा पूरा गरेको थियो ।

सिट बेल्ट नलगाउनु ठूलो गल्ती

गाडी ओभरटेक गर्ने क्रममा गति गति रहनु र सटीक निर्णय लिन नसक्नु दुई कमजोरीले कार सडकको डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएका मिस्त्री र जहाँगीर दुवै कारको पछिल्लो सिटमा बसेको र उनीहरुले सिट बेल्ट नलगाएको पाइएको छ । मर्सिडिज कार चलाउँदै आएका डा अनायता र उनका श्रीमान् डारियस अगाडिको सिटमा थिए तर उनीहरुले सिट बेल्ट लगाएका थिएनन् ।

दुर्घटनाका प्रत्यक्षदर्शीले पनि कार निकै तीव्र गतिमा रहेको र गलत साइडबाट अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा डिभाइडरमा ठोक्किएको बताए । साइरसका बुबा र व्यापार व्यवसायी पल्लोनजी मिस्त्री (९३) को यही वर्ष जुन २८ मा निधन भएको थियो ।

साइरस र उनका बुबाको मृत्युपछि उनको परिवारमा अब श्रीमती र छोरा, आमा पाट्सी पेरिन दुबास, भाइ शापूर मिस्त्री, दुई बहिनी लैला मिस्त्री र आलु मिस्त्री छन् ।

टाटा समूहका छैटौं समूह अध्यक्ष

सन् २०१२ डिसेम्बरमा रतन टाटाले टाटा सन्सको अध्यक्षको रूपमा अवकाश लिएपछि साइरस मिस्त्री टाटा सन्सको अध्यक्ष बने । टाटाको १५० वर्षभन्दा बढीको इतिहासमा साइरस मिस्त्री छैटौं समूह अध्यक्ष थिए ।

उनी सो पद हासिल गर्ने टाटा परिवार बाहिरका पहिलो व्यक्ति पनि थिए । तर, चार वर्षभित्रै २४ अक्टोबर २०१६ मा टाटा सन्सले उनलाई अध्यक्ष पदबाट हटायो ।

उनको स्थानमा रतन टाटा नै पुन अन्तरिम अध्यक्ष बनाइएको थियो । मस्त्रीको बर्खास्तीबारे टिप्पणी गर्दै टाटा सन्सले मिस्त्रीको काम गर्ने तरिका टाटा सन्सको काम गर्ने तरिकासँग मेल नखाएको बताएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ २१ गते मंगलबार