बाँसगढी ।
बाँसगढी नगरपालिका वडा नम्बर–८ रिहारपुरमा सेञ्चुरी कर्मसियल बैंकले चौतारी निर्माण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकको बाँसगढी शाखाले चौतारी निर्माण गरेको हो । नगरस्तरीय खेलकुद मैदान नजिकै सामुदायिक वन उपभोक्ता समितिको परिसरमा चौतारी निर्माण गरिएको बैंकले जनाएको छ ।
चौतारी निर्माण भएसँगै स्थानीयहरुलाई कुनै पनि कार्यक्रम गर्दा बस्न सहज हुने वडा नम्बर–८ का वडाध्यक्ष तुलप्रसाद गौतमले बताए । ‘वनको भवन परिसरमा विभिन्न भेला, बैठकलगायतका गतिविधि हुँदै आएका छन्,’ उनले भने, ‘पहिले चौतारी नहुँदा समस्या हुँदै आएको थियो । अब कार्यक्रम हुँदा बस्नलाई केही भए पनि सहज हुनेभयो ।’
फरक किसिमको समाजमा दीर्घकालीन छाप रहने गरी बैंकले चौतारी निर्माण गरेको वडाध्यक्ष गौतमले बताए । ‘आगामी दिनमा समेत बैंकले यस्तै खालमा अन्य गतिविधि समाजमा गर्नेछ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने, ‘अन्य कार्यक्रमसमेत बैंकमा अबका दिनमा अगाडि सार्नुपर्छ ।’
स्थानीय कृष्णबहादुर खड्काले खेलकुद मैदानको नजिकै चौतारी निर्माण गरिएसँगै दर्शकहरुलाई समेत सजिलो भएको बताए । ‘मैदान वरिपरि बस्ने स्थान नहुँदा दर्शक उभिएरै खेल हेर्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘खुला चौरको छेउमा चौतारी बनेपछि अन्य समयमा समेत हामीलाई बस्न सजिलो हुनेभयो ।’
बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा सहयोग गरिरहेको बाँसगढी शाखा प्रबन्धक मीना आलेले बताइन् । आगामी दिनमा समेत यस्ता गतिविधिलाई निरन्तरता दिइने उनले बताइन् । बैंकका देशभरि एक सय ४६ वटा शाखा, एक सय १५ एटिएम, १० वटा एक्सटेन्सन काउन्टर तथा २५ वटा शाखारहित बैंकिङ सेवा रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्