कोहलपुर नगर विकास समितिले नगर क्षेत्रमा रहेका अवैध र अतिक्रमित संचरना भत्काउने अभियान सुरु गरेको छ । सोही अभियानअन्तर्गत आइतबार न्यूरोडमा रहेका संरचना भत्काएको छ । कोहलपुर बसपार्कमा रहेका संरचना भत्काउन खोज्दा व्यवसायीहरुले अवरोध सिर्जना गरेका छन् । दिनभरि प्रयास गर्दासमेत संरचना भत्काउन सकिएन । साँझ बसेको सर्वदलीय बैठकले समेत निष्कर्ष निकाल्न सकेन । यसै सन्दर्भमा अवैध संरचना अभियानको उद्देश्य, औचित्य र भावी कदमका विषयमा कोहलपुर नगर विकास समितिका अध्यक्ष तथा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यसँग मिसन टुडेकर्मी शुभाकर विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंशः
नगर क्षेत्रका संरचना भत्काउने अभियान सुरु गर्नुभएको छ, सर्वप्रथम यसको आवश्यकताको विषयमा जानकारी गराइदिनूहोस्
न ?
नगर विकास समितिका पूर्ववत् निर्णयहरु हामी आइसकेपछिका केही महŒवपूर्ण निर्णयलाई कार्यान्वयनको प्रक्रियामा लिने प्रयास गरिएको छ । त्यही प्रयासअन्तर्गत नगर विकास समितिभित्र रहेका अवैध संरचना भत्काउने अभियान सुरु भएको हो । कोहलपुरमा धेरै अव्यवस्थित संरचना छन् । धेरै बाटो मापदण्डअनुसार छैनन् ।
त्यो समस्याका रुपमा छ । नगर विकास समिति त वैज्ञानिक मापदण्डअनुसार छ । तर, यहाँ मापदण्डविपरीत संरचना निर्माण गरिएका छन् । धेरैले जबरजस्ती निर्माण गरेका छन् । केही सम्झौता गरिएका र सम्झौता भंग भइसकेपछि पनि त्यसको विपरीत केही व्यक्तिहरुले संरचना कब्जामा लिने प्रयास भइरहेका छन् । यसलाई हामीले पद्दतिमा ल्याउन खोजेको हो । हामी विधिअनुसार अगाडि बढ्छौँ ।
नगर क्षेत्रका कुनकुन स्थानमा अवैध संरचना छन्, कहाँकहाँका संरचना भत्काउने स्पष्ट पारिदिनूहोस न ?
हामी नगरवासी हौँ । हामी सबैलाई थाहा छ, कहाँकहाँ कुनकुन ठाउँमा अवैध संरचना छन् भनेर । हामीलाई यो पनि थाहा छ की कहाँ मापदण्डअनुसार संरचना निर्माण भएका छन्, कहाँ भएका छैनन् । अथवा स्वीकृत मापदण्ड के थियो र हामीले कस्तो संरचना निर्माण गरेका छौँ । यो कुरा नगर विकास समितिभित्र बस्ने सम्पूर्णलाई थाहा छ ।
कतिपयलाई थाहा छ र मापदण्डअनुसार बनाउनु भएको छ । कतिले त थाहा भएर पनि मापदण्डविपरीत बनाउनु भएको छ । थाहा भएर पनि मापदण्डविपरीत जति संरचना छन् । त्यो खाली गराउनु हाम्रो दायित्व हो । यहाँका संरचना अतिक्रमणको चपेटामा छन् ।
यहाँ खाली जमिन नै छ । हिजो यहाँका प्रमुख राजनीतिक दलका नेताहरुले ऐलानी जग्गा कब्जा गरे । हिजो गरिब भन्नुहुन्छ । आज उहाँहरु लाखौँका कार चढ्नुहुन्छ । तर, जग्गा फिर्ता गर्न तयार हुनुहुन्न । कोही तयार छैन । हामीले नयाँ काम सुरु गरेका छौँ ।
संरचना भत्काउने अभियान थाल्नु भएको छ, बसपार्क क्षेत्र नै किन रोज्नु भयो तपाईँले ?
हामीले भत्काउन खोजेका संरचना अदालतले नै भत्काउन आदेश दिइसकेको छ । अहिले जो त्यहाँ बसिरहनु भएको छ, उहाँहरुले पनि नगर विकास समितिले आवश्यकता महसुस गरेको खण्डमा ३५ दिन अगावै सूचना गरेमा हामी छोड्ने छौँ भनेर दायाँबायाँ ल्याप्चे लगाउनु भएको
छ । त्यो जबरजस्ती र नक्कली ल्याप्चे होइन ।
यो धेरै बहस गर्नुपर्ने विषय होइन । तर, त्यहाँ जुनखालको माहोल सिर्जना गरियो । नगर विकास समितिले त्यहाँको संरचना भत्काउने नै हो । तर, हिजो हामीले जनधनको क्षति नहोस् भनेर संयमता अपनाएको हो । जसरी त्यहाँ केही महिला दिदीबहिनीहरुलाई अघि सारियो । त्यहाँ कसले केके गरे । सबै थाहा छ । त्यसरी आउँदा उहाँहरुलाई नै समस्या हो ।
यसरी नै अघि बढ्ने हो त झन उहाँहरु त्यहाँ बस्नै पाउनु हुँदैन । आगामी दिनमा बुझ्दै जानु हो । आइतबारको सन्दर्भमा व्यवसायीहरुले खाली गरिसकेका सटरमा समेत अवरोध सिर्जना गरिएको हो । मैले भन्नैपर्छ । त्यहाँका सटर खाली भए भने दुईचारजना व्यक्ति र संस्थाहरुको रोजीरोटी गुम्छ, आर्थिक मन्दी सुरु हुन्छ । त्यसैले केही व्यक्तिले सोझासाझा व्यक्तिहरुले भ्रमित पार्नु भएको छ ।
अवैध संरचना भत्काउन खोज्दा महŒवपूर्ण राजनीतिक दलले अवरोध गरेको देखियो नी ?
कोको व्यक्ति र दलले अवरोध गरे, कसको स्वार्थ के हो ? सम्पूर्ण कुरा बाहिर आइसकेको छ । यसमा म धेरै बोल्दिनँ । त्यहाँको लागि थप छलफल, सहयोग र अंकमाल गरेर जाने अवस्था छैन । नगर विकासमा सबै राजनीतिक दलले नेतृत्व गरिसकेका छन् । त्यसमा यहाँको अवस्थाको विषयमा थाहा नपाएको भन्ने कुरा छैन । अहिले नगर विकास समितिको संरचना पहिलाको जस्तो छैन ।
हामीले अहिलेको समितिमा सबै दललाई समेटेका छौँ । यहाँ एकलौटी हुनुहुँदैन भन्ने उद्देश्यले मैले यस्तो गरेको हो । यसमा धेरै कुरा देखिए । दलको न सहयोगको कुरा सत्य हो । सुरक्षा निकायले मलाई सहयोग नगरेको भन्ने पनि होइन । सुरक्षा निकायलाई केही राजनीतिक दलका नेताहरुले गलत सूचना प्रवाह गरेका कारण त्यसो भएको हो । अर्को कुरा माफियाहरुको दल हुँदैन ।
दलालहरुको दल हुँदैन । तपाईँहरुले आफ्नै दलबाट सहयोग पाउनु भएन भन्नुभयो । मेरै पार्टीभित्र पनि माफियाहरु होलान् । मेरा पार्टीका सबै मानिसहरु सध्य छन् भन्न सकिँदैन । मेरो पार्टीले संस्थागतरुपमा असहयोग गरेको छैन । पार्टी आडमा दलाली गरिरहेकाहरु छन् । उनीहरुले हिजो अवरोध सिर्जना गरेका हुन् । बसपार्कमा धेरै कुरा छ । म त्यो सबै तोड्छु ।
हिजो त अवरोध भयो, अब कहिलेसम्म भत्किन्छन् टहरा ?
कोहलुर नगरपालिकामा अतिक्रमित र अवैध संरचना भत्काउने अभियान सुरु भएको छ । यो कोहलपुरको इतिहासमा पहिलोपटक नै हो । त यति ज्ञारेन्टी गर्न चाहन्छु, म मेरो कार्यकालभरि अवैध संरचना आउने जनप्रतिनिधिलाई जिम्मा लगाएर जान चाहन्न । अर्को कुरा, बसपार्कमा छामामार शैलीमा आए भने प्रचार गरिएको छ । यो गलत कुरा हो ।
यस्तै माफियाहरुले त्यहाँ टहरालाई गरिबीसँग जोडेका छन् । त्यहाँ यर्थाथ वस्तुस्थिति त्यो छैन । त्यहाँ २०४२ मा बस्न सुरु गरिएको हो । त्यतिबेलाका बहुसंख्यक मानिसहरु त्यहाँ छैनन् । जति जना त्यहाँ छन्, श्रेणी विभाजन गर्ने हो भने पनि क श्रेणीमा पर्छन् । बसपार्क सुधार समितिको नाममा जुन संस्था खडा भएको छ । त्यहाँ आर्थिक लेनदेनबाहेक अरु केही पनि हुँदैन ।
त्यसले दलाली गरिरहेको छ । बसपार्क क्षेत्र दलाल र माफियाको कब्जामा छ । उनीहरुलाई राजनीतिक दलले संरक्षण गरेका छन् । अब कोहलपुरका जनताले त्यो जालो तोड्छन् । विधि र पद्दतिले छोड्छ । हटरा भत्किएरै छोड्छ ।
त्यहाँका नागरिकको माग संरचना भत्कियोस् तर, वैकल्पिक व्यवस्थापन होस् भन्ने छ । यसको सम्भावना के छ ?
त्यहाँ व्यवसाय गरिरहेका ९० प्रतिशत व्यक्तिका आफ्नै पक्की घर छन् । कसैका घर बुटवल, नारायणगढ र काठमाडौँमा छन् । कसैका घर कोहलपुर टाउनभित्र छन् । यो कुरा सबैले बुझ्नुपर्छ । त्यसमा रहेका १० प्रतिशत नागरिक अत्यन्तै न्यून परिवार हुनुहुन्छ भने पनि कोहलपुरमा कही न कही घर छन् ।
यदि उहाँहरुको भूमिहीन र सुकुम्बासी हो भने भूमि आयोगले आवेदन मागिरहेको छ, त्यहाँ जानुप¥यो । कोही सुकुम्बासी र भूमिहीन छ भने हामीले सहजीकरण गर्छौँ । भूमि आयोगले व्यवस्थापन गर्छ । कोही अति समस्यामा रहेका छन् भने उहाँहरुको वैकल्पिक व्यवस्थापनका विषयमा हामी खुल्ला छौँ । तर, एकदुईजनालाई देखाएर धनी वर्गले बसपार्क कब्जा गरेर बस्ने दिन चाहिँ रहँदैन ।
नगर विकास समितिले त्यहाँको संरचना भत्काएपछि के–के संरचना बनाउने हो, योजना के छ ?
हामीले सोचेको कुरा तपाईँहरुलाई भन्न चाहन्छुँ । त्यहाँ बसपार्क छ । नगरपालिकाले नयाँ बसपार्क बनाउँदैछ । त्यो अन्तिम चरणमा पनि छ । उता बसपार्क सञ्चालन भयो भने यहाँको बसपार्क खास्सै प्रयोगमा आउँदैन । हाम्रो उद्देश्य यो बसपार्कलाई नयाँ बसपार्कसँग गाभ्ने हो ।
त्यहाँका संरचना भत्काउने मूल उद्देश्य भनेको त्यहाँ एउटा ‘विजेनस कम्प्लेक्स’ बनाउने भन्ने हो । त्यसको लागि गुरुयोजना संशोधन गर्न सम्बन्धित मन्त्रालयलाई पत्राचार भएको छ । त्यो निर्णयको प्रक्रियामा छ । विजेनस कम्प्लेक्स बनाउनको लागि प्रशासनिक तवरबाट गर्नुपर्ने कामसमेत सुरु भएको छ ।
डीपीआरको कामसमेत सुरु भएको छ । हाम्रो आशा सहरी विकास मन्त्रालयसँग छ । मन्त्रीज्यूले तपाईँहरु योजना लिएर आउनुहोस् भन्नु भएको छ । यदि मन्त्रालयबाट सहयोग प्राप्त भएन भने पनि नगर विकास समितिको आन्तरिक स्रोतबाट पनि हामी काम अगाडि बढाउँछौँ । नयाँ काम सुरु गर्नुपर्छ भनेर अघि बढेको हो ।
त्यसको अलवा नगर विकास कोषबाट समेत ऋण लिएर त्यहाँ जसरी पनि संरचना बन्छ । त्यहाँको लागि ठाउँ चाहिन्छ । अहिलेको अवस्थामा त्यो सम्भव छैन । त्यसैले हामीले खाली गराउन खोजेको हो । त्यहाँ कानुनी प्रक्रियाअनुसार काम सुरु गरेको हो । कसैलाई हटाउन वा उठिबास लगाउन खोजेको होइन । मेरो तार्गेट माफिया हुन्, जनता होइनन् ।
अवैध अभियान सफल बनाउनको लागि यहाँका दल, व्यवसायी, स्थानीयहरुबाट तपाईँको आशा के हो ?
मैले बारम्बार भन्दै आएको छुँ । हामीले केही सुरुवात गर्न खोजेका छौँ । यो प्रयास मेरो व्यक्तिगत र जनप्रतिनिधिको स्वार्थका लागि होइन । हामीले निर्वाचनका लागि मत दिनका लागि गरेका प्रतिबद्धताहरुलाई कार्यान्वयनको चरणमा लिनको लागि हो । हामीले सुरु गरेको अभियानमा अहिले थुप्र्रै बुद्धिजीवी, भद्रभलादमी, केहीबाहेक धेरै राजनीतिक दलहरुले प्रशंसा गर्नु भएको छ । साथ दिने प्रतिबद्धता गर्नुपर्छ ।
नागरिकहरुमा मैले उत्साह जागेको पाएको छुँ । सम्पतिको संरक्षण गर्नु हाम्रो सामाजिक उत्तरदायितत्व हो । त्यसो भएका कारण नगरवासी सबै जानकार हुनुहुन्छ । क्षमतावान् व्यक्ति हुनुहुन्छ । हाम्रो अभियानमा भरपूर सहयोग छ । मेरो सम्पूर्णलाई अनुरोध छ ।
निर्वाचन जित्नका लागि बसाइएका बस्तीहरु, आज समय उल्टो भएको छ । त्यो बस्ती नउठाइकन कसैले चुनाव जित्ने अवस्था छैन । आर्थिक लेनदेन र चुनावी फण्डाको विषय होइन । कोहलपुरको हितको लागि हो । सबैको सहयोगको खाँचो छ । अभियान सफल हुन्छ । अफल बनाउनु कोहलपुरमा हितमा छ ।









प्रतिक्रिया दिनुहोस्