लक्ष्मीनारायण मन्दिरबारे अख्तियारमा उजुरी



नेपालगन्ज ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ रानीतलाउस्थित लक्ष्मीनारायण भगवान् मन्दिरको अस्तव्यवस्ताबारे अख्तियारमा उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जमा मन्दिरका भक्तजनहरुको नाममा व्यक्तिगत नाम उल्लेख नभएको उजुरी परेको हो ।

उक्त उजुरीमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश आजादमाथि गम्भीर आरोपहरु लगाइएको छ । साउन ९ गते परेको उजुरीमा समितिका अध्यक्ष आजाद र अन्य सदस्यहरुले मन्दिरको सम्पत्तिमा आँखा लगाइरहेको, मन्दिरको आम्दानीको स्रोतलाई व्यक्तिगत आम्दानीको स्रोत बनाएको र कोहलपुरमा रहेको सात बिघा जमिनमध्ये चार बिघा जमिन ‘ठूलो रकम खाएर’ मोही कायम गराई सार्वजनिक सम्पत्तिको हिनामिना गरेको आरोप लगाइएको छ ।

मन्दिरको जग्गामा रहेका टहराको भाडा कहाँ जान्छ भन्ने यकिन नभएको, समितिका पदाधिकारीहरु मिलेर पैसा बाँडेर खाने गरेको र २०६१ सालदेखि एकै व्यक्तिहरु समितिमा रहेर मन्दिरलाई अस्तव्यस्त पार्ने काम गरेको आरोप पनि जाहेरीमा लगाइएको छ ।

अख्तियारमा परेका उजुरीमा अध्यक्षलगायत समितिका अन्य सदस्यहरुलाई नहटाएसम्म पैसाको ठूलो चलखेल गर्ने योजना सफलीभूत हुने उल्लेख छ । यसैगरी मन्दिरको पूजापात्र मर्मत सम्भार हुन नसकेको, भान्साको अवस्था राम्रो नभएको, साधु सन्तहरुको उचित बासस्थानको पनि व्यवस्था नभएको र चार वर्षअघि सडक निर्माण गर्दा भत्केको मन्दिरको पर्खाल पुनर्निर्माण पनि नगरिएको उजुरीमा उल्लेख छ । उक्त उजुरीमाथि अहिले प्रारम्भिक छानबिन भइरहेको अख्तियारले जनाएको छ ।

मन्दिरको अस्तव्यस्ताबारे बिहीबार मिसन टुडेमा विस्तृत समाचार प्रकाशित भएको थियो । नेपालगन्जको एक पुरातात्विक र धार्मिक पर्यटनका दृष्टिले महŒवपूर्ण उक्त मन्दिरको सम्पत्तिमा भुमाफियाको आँखा रहेको प्रयोग भएको जमिनको पनि उपयुक्त लाभ मन्दिरले लिन नसकेको भक्तजनहरु बताउँछन् । मन्दिरको सम्पत्तिको सदुपयोग गर्न सकेमा उक्त मन्दिरलाई पर्यटकीय र धार्मिक दृष्टिकोणले आकर्षकस्थल बनाउन सकिने प्रचुर सम्भावना छ । तर, मर्मत सम्भार र उचित योजनाको अभावमा मन्दिर जीर्ण बन्दै गएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ १४ गते मंगलबार