सामाजिक सञ्जालको जमानामा केही नयाँ देख्ने बित्तिकै सेल्फी खिच्नेको भीड लागिहाल्छ । भारतको नौएडामा बनेको अग्लो ‘ट्विन टावर’ सेल्फी पारखीका लागि एक आकर्षकस्थल थियो ।
तर त्यो टावर अवैध ठहर भएपछि आइतवार दिउँसो २ः३० बजे भत्काइँदैछ । सर्वाेच्च अदालतको आदेशमा सरकारी स्तरबाटै टावर भत्काउने सम्पूर्ण तयारी पूरा गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अवैध रूपमा निर्माण गरिएको टावर भत्काउनुअघि विपद् व्यवस्थापन संयन्त्रलाई तैनाथ गरिएको छ । अग्लो टावर भत्काउँदा कुनै अप्रिय घटना हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै राष्ट्रिय विपद् व्यवस्थापन टीम, प्रहरी, यातायातकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स लगायतलाई तैनाथ राखिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार ३२ तले टावर निर्माणमा १३ अर्ब रुपैयाँ खर्च भएको थियो । बाहिरबाट हेर्दा आकर्षण टावर भए पनि प्राविधिक र कानूनी रूपमा अवैध भएपछि ध्वस्त गर्न लागिएको छ । टावर ध्वस्त गर्ने तयारी भइरहेका बेला सर्वसाधारणहरू टावरसँग अन्तिम सेल्फी लिइरहेका छन् । आइतवार दिउँसोपछि त्यो टावर देखिने छैन ।
सरकारी कर्मचारी र घरजग्गा व्यवसायीको मिलेमतोमा अवैध टावर बनेपछि अदालतले भत्काउन आदेश दिएको थियो । अदालतको आदेशअनुसार आइतवार दिउँसो २ः३० बजे टावर भत्काउन विस्फोट गराइने भएको छ ।
प्रतिक्रिया दिनुहोस्