22 May 2024  |   बिहिबार, जेष्ठ १०, २०८१

कोहलपुर नगरपालिकाद्वारा गठित प्रशासन सुधार कार्यदलले काम थाल्यो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, भदौ ६, २०७९  

कोहलपुर ।

कोहलपुर नगरपालिकाद्वारा गठित कोहलपुर प्रशासन सुधार कार्यदलले काम सुरु गरेको छ । कोहलपुर नगर कार्यपालिकाको बैठकबाट निर्णय भएको २४ दिनपछि कार्यदलले काम सुरु गरेको हो ।

साउन ११ गते बसेको कार्यपालिका बैठकले कोहलपुर नगरपालिकाको प्रशासनिक संरचना सुधारका लागि नेपाल सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा दुई सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलको सदस्यमा पूर्व प्रशासक गोकर्ण शर्मा छन् । कार्यदलले नगरपालिकाको प्रशासनिक संरचना सुधारका साथै जनशक्ति व्यवस्थापन एवम् कार्यालय संगठन संरचनासमेत निर्माण गर्नेछ ।

कार्यपालिकाको निर्णयमै कार्यदेश प्राप्त मितिले १५ दिनभित्र प्रतिवेदन तयार गर्ने निर्णय गरेको छ । सोहीअनुसार आइतबारदेखि अबको १५ दिन कार्यदलले कोहलपुर नगरपालिकाको समग्र अवस्थाको अध्ययन गर्ने छ । त्यसपछि नगरपालिकालाई प्रतिवेदन पेस गरिनेछ ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालका अनुसार कार्यपालिकाले गरेको निर्णयअनुसार विज्ञहरुको समय अनुकूल मिलाएर केही समय ढिलो गरी कामको सुरुवात भएको छ ।

उनले कार्यदलका संयोजक र सदस्यसहितको उपस्थितिमा पहिलो दिन कोहलपुर नगरपालिकाका जनप्रतिनिधिहरुसँग छलफल प्रारम्भ भएको बताए । उनले कार्यदलसँग आन्तरिक छलफल भएको बताए ।

‘कार्यदल कोहलपुर आइपुगेको छ । आज पहिलो दिन आन्तरिक छलफल भयो । केही दिनमा नगरपालिका स्तरका सरोकारवालासँग पनि छलफल हुन्छ,’ उनले भने ।

नगरपालिकाले चालू आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा समेत यस विषयलाई प्राथमिकताका साथ उठाइएको छ । नगर प्रमुख पूर्णप्रसाद आचार्यले पनि जनप्रतिनिधि, कर्मचारी र कार्यदलबीच प्रारम्भिक छलफल भएको बताए । उनका अनुसार कार्यदलले औपचारिकरुपमा काम सुरु गरेको छ ।

यस्तै नगरपालिकाले नीति तथा कार्यक्रमअनुसार श्वेतपत्रका लागि नेपाल राष्ट्रका बहालवाला वा पूर्व कर्मचारी/विज्ञबाट सार्वजनिक खरिद कानुनबमोजिम निर्माण गराउने निर्णय भएको थियो ।

प्रकाशित मितिः सोमवार, भदौ ६, २०७९     3:04:22 PM  |