बाँकेका छुट्टाछुट्टै स्थानमा दुईजनाको शव फेला



बाँके ।

बैजनाथका छुट्टाछुट्टै स्थानमा बिहीबार दुई पुरुष मृत अवस्थामा फेला परेका छन् । बैजनाथ गाउँपालिका–१ गाभरको प्रतीक्षालयमा बेवारिसे अवस्थामा एउटा शव फेला परेको छ ।

पहिचान नखुलेका अन्दाजी ४०/४२ वर्षीय पुरुष प्रतीक्षालयमा मृत अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।

‘बिहानी कसरतमा निस्किएका स्थानीयले देखेपछि हामीलाई खबर आएको थियो,’ उनले मिसन टुडेसँग भने, ‘पहिचान नखुलेको शवलाई आवश्यक प्रक्रिया पु¥याएर पोस्टमार्टमका लागि भेरी अस्पताल पठाएका छौं ।’ मृतक पुरुष सोही क्षेत्रमै सडकमा मागेर हिँड्ने गरेको खुले प्रहरी निरीक्षक मल्लले बताए ।

‘प्रतीक्षालयमा बस्ने र माग्दै हिँड्ने गरेको खुल्न आएको छ,’ उनले भने, ‘मृतकका शरीरमा त्यस्तो कुनै चोकपटक त देखिँदैन । तर, पनि हामीले अनुसन्धानलाई अगाडि बढाएका छौं ।’

यस्तै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चिसापानीमा रहेको छात्राबास (होस्टेल) मा एक विद्यार्थी मृत फेला परेका छन् । आफ्नै कोठामा झुण्डिएको अवस्थामा एमबीबीएस अध्यनरत विद्यार्थी फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ऐनबहादुर मल्लले नेपालगन्जका २५ वर्षीय सिद्धार्थ वैश्य झुण्डिएको अवस्थामा फेला परेको बताए । उनी नेपालगन्ज मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्यनरत थिए ।

‘आफ्नै कोठामा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्,’ डिएसपी मल्लले भने, ‘आत्महत्याको कारण केही नखुले पनि ‘सुसाइट नोट’ फेला परेको छ ।’ मृतक वैश्यको कोठामा फेला परेको उक्त सुसाइट नोटलाई हेर्दा सामान्य घरायासी समस्यालाई देखाएर झुण्डिएको देखिएको उनले बताए ।

‘घटनास्थलमा फेला परेको नोटमा समेत त्यस्तो केही देखिँदैन,’ उनले भने, ‘नोटलाई हेर्दा सामान्य कुरालाई मन लिएर डिप्रेसनमा भएको अनुमान गर्न सकिन्छ । अन्य विषयमा अनुसन्धान अगाडि बढाएका छौं ।’

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ ३ गते शुक्रबार