टोल संस्थामार्फत योजना कार्यान्वयन गर्दै राप्तीसोनारी



नेपालगन्ज ।

राप्तीसोनारी गाउँपालिकाले अब वडातहका योजनाहरु उपभोक्ता समितिमार्फत नभै टोल विकास संस्थामार्फत कार्यान्वयन गराउने भएको छ । गाउँपालिकाले टोल विकास संस्था गठन गर्न सबै वडाहरुलाई निर्देशन दिँदै एक सूचना जारी गरेको छ ।

टोल, बस्तीस्तरबाट नागरिक सहभागिता सुनिश्चत गर्दै आगामी १५ दिनभित्रमा संस्था गठन गर्न निर्देशन दिइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले यसअघि उपभोक्ता समितिमार्फत कार्यान्वयन गराइने योजनाहरु अब टोल विकास संस्थाहरुले गर्ने बताए ।

गाउँपालिकाको टोल विकास संस्था गठन तथा परिचालन कार्यविधि– २०७९ बमोजिम सबै वडाहरुलाई संस्था गठन गर्न निर्देशन दिइएको डाँगीले बताए । उपभोक्ता समितिमार्फत विकास निर्माणका काममा गुणस्तर नहुने, राजनीतिक भागभण्डा हुने, भ्रष्टाचार हुने र समितिका पदाधिकारीले गल्ती गरेमा उजुरी गर्न पनि नसकिने भएकोले संस्था गठन गर्ने अवधारणा अघि सारेको उनले दाबी गरे ।

करिब १ सय घर प्रतिनिधित्व गर्नेगरी ८० प्रतिशत घरधुरिको सहभागितामा आम भेला गरी टोल विकास संस्था गठन गरिने कार्यविधिमा उल्लेख छ । गाउँपालिकामा करीब १२ हजार घरधुरी रहेका छन् ।

यस आधारमा करिब एक सय २० टोल विकास संस्था गठन हुन सक्ने अनुमान गरिएको छ । दुई वर्षको अवधि रहने संस्थामा ५० प्रतिशत महिलाहरूको सहभागिता अनिवार्य बनाइएको छ ।

भेलाले अध्यक्ष, सचिव, कोषाध्यक्ष गरि ३ देखि ११ जना सदस्य रहने गरि संस्था गठन गर्नुपर्ने छ । एउटा व्यक्ति वा समुहले बढीमा २ कार्यकाल नेतृत्वमा रहन पाउनेछन् । यसरी संस्थामार्फत भएको खर्च पारदर्शी र गुणस्तरीय हुने अपेक्षा गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ साउन ९ गते सोमबार