सिक्टाको पूर्वी नहरमा डुबेर एक बालकको मृत्यु



कोहलपुर ।

सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । मंगलबार साँझ करिब पाँच बजेतिर घरबाट निस्किएका बालकको सिक्टाको पूर्वी नहरमा डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा राप्तीसोनारी गाउँपालिका– ३ भगवतीपुरका ६ वर्षीय बालक विपिन खत्री रहेको राप्तीसोनारीबाट पत्रकार हेमन्त चौधरीले जानकारी दिए ।

बालकको डुबेको खबर पाएपछि सुरक्षाकर्मी र स्थानीयले खोजी गर्दा बालक ५० मिटर टाढा भेटिएको पत्रकार चौधरीले बताए । ‘बालकलाई उपचारको लागि भन्दै भेरी अस्पताल नेपालगन्ज लगिएको थियो’ उनले मिसन टुडेसँग भने, ‘अस्पताल पु¥याउने वित्तिकै चिकित्सकले मृत घोषणा गरे । बालकको मृत्युपछि गाउँ शोकमा डुबेको छ ।’

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले बालकको मृत्यु भएको बताए । ‘५० मिटर तलबाट उद्दार गरेर त अस्पताल ल्याइएको थियो’ उनले भने, ‘बाँच्ने सम्भावना त उद्दारको बेला कमै थियो । अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरे ।’ बालकको शवलाई भेरी अस्पताल नेपालगन्जमा राखिएको छ ।

आवश्यक प्रक्रिया पूरा गरेर बालकको शवलाई आज आफन्तको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । केही दिनघि मात्र सिक्टा सिँचाई आयोजनाको पूर्वी नहरमा राप्ती नदीको पानी छोडिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७९ साउन ४ गते बुधबार