नेपालगन्ज ।
कार्यसमितिविहीन बनेको करिब साढे दुई दशकपछि गत चैत २९ गते नेपालगन्जस्थित महेन्द्र पुस्तकालयको तदर्थ समिति गठन गरिएको थियो । करिब साढे दुई दशकदेखि नयाँ कार्यसमिति गठन नभइ समस्याग्रस्त अवस्थामा रहेको पश्चिम नेपालको सबैभन्दा पुरानो पुस्तकालयको सुधारका लागि एक छानबिन समिति गठन गरिएको थियो ।
उक्त समितिले तत्काल तदर्थ समिति गठन गरी पुस्तकालयको सुधारको जिम्मा उक्त समितिलाई दिइनुपर्ने सुझाव दिएको थियो । पुस्तकालयको हरहिसाब दुरुस्त नराखिएको र सुधारका लागि कतैबाट पनि चासो नभएको बेला मिसन टुडेलगायत पत्रपत्रिकामा निरन्तर समाचार प्रकाशन भएपछि छानबिन समिति गठन गरिएको थियो ।
सोही सुझावअनुसार शिक्षक बलराम यादवको अध्यक्षतामा गठित १२ सदस्यीय तदर्थ समितिले निर्धारित समयमा आफ्नो जिम्मेवारी पूरा गर्न सकेन । तदर्थ समितिलाई पुस्तकालयको सदस्यता संख्या बढाउने, बाँकी बक्यौता असुल गर्ने, विधान संशोधन गर्ने र असार मसान्तभित्र नयाँ कार्यसमिति गठन गर्ने जिम्मेवारी दिइएको थियो ।
तर विविध कारणले तदर्थ समितिले तोकिएको समयमा आफ्नो काम गर्न नसकेपछि असार ३२ गते शनिबार बसेको पुस्तकालयको साधारणसभाले तदर्थ समितिलाई थप दुई महिनाको समय दिएको छ ।
कार्यसमिति चयन गर्ने समय नपुगेकोमा थप समय दिइएको तदर्थ समितिले नै पुस्तकालय ७५ वर्ष पुगेको अवसरमा हिरक उत्सव (अमृतोत्सव) मनाउने तयारी गरेको छ । साढे दुई दशकपछि नयाँ कार्यसमिति गठन गरेर हिरक उत्सव मनाउँदा त्यसले एक सकारात्मक सन्देश दिने भए पनि त्यसलाई बेवास्ता गर्दै तदर्थ समितिलाई नै निरन्तरता दिने निर्णय गरिएको छ । साढे दुई दशकसम्म पुस्तकालय अलपत्र पर्दा पनि चासो नदिनेहरुकै अहिले बोलवाला चलिरहेको पुस्तकालयका एक सदस्यले बताए ।
पुस्तकालयका अध्यक्ष यादव आफू सचिव र कोषाध्यक्षको परिवारमा दुःखद् घटना घटेकोले समय दिन नसकिएको बताउँछन् । अब दुई महिनाभित्र नयाँ कार्यसमिति गठन गर्न आफूहरु प्रतिबद्ध भएर लाग्ने उनले बताए ।
शनिबार बसेको पुस्तकालयको साधारणसभाले पुस्तकालयको संशोधित विधानलाई पारित पनि गरेको उनले बताए । साढे दुई दशकदेखि कार्यसमिति नहुँदा अध्ययन गर्न मिल्ने वातावरण थिएन भने पुस्तक र अन्य सामानहरुको सुरक्षा पनि थिएन । हाल दिउसो १ बजेदेखि पुस्तकालय खुला हुने गरेको छ ।
छानबिन समितिले पुस्तकालयमा कति पुस्तक छन् भन्ने यकिन नभएको, खर्चको हरिहिसाबका कागजपत्र हेर्न नपाइएको र भाडामा दिइएका सटरहरुको भाडा कम भएको र असुल पनि नभएको प्रतिवेदन दिएको थियो । यस विषयमा पनि तदर्थ समितिले काम गरिरहेको बताएको छ ।









प्रतिक्रिया दिनुहोस्