कोहलपुर ।
कोहलपुरमा अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । निजी तथा आवासीय विद्यालय अगनाइजेसन (प्याब्सन) कोहलपुरको आयोजनामा भएको कार्यक्रममा आधारभूत तह तथा माध्यमिक तहको छुट्टाछुट्टै प्रतिस्पर्धा भएको थियो ।
‘कोभिड–१९ (कोरोना भाइरस) र यसले शिक्षामा पारेको असर’ विषयक प्रतियोगितामा माध्यमिक तहतर्फ बाल विद्या सेकेन्डरी स्कुलकी छात्रा अनु ओली प्रथम, गोर्खा युनाइट पब्लिक स्कुलका छात्र अनमोल शाही द्वितिय र ग्रीन माध्यमिक विद्यालय चप्परगौडीकी छात्रा जानवी अर्याल तृतीय भएका छन् ।
त्यस्तै आधारभूत तहतर्फ मिसन पब्लिकका छात्र देवराज आचार्य प्रथम, ग्रीन पिस माध्यमिक विद्यालयका प्रशान्त गौतम द्वितिय र शिखा एकेडेमीकी छात्र श्रुतिका अर्याल तृतीय भएका छन् ।
प्रतियोगितामा १० वटा विद्यालयले भाग लिएका थिए । उक्त प्रतियोगितामा उत्कृष्ट स्थान ल्याउने छात्रछात्रालाई ट्रफी तथा प्रमाणपत्र वितरण गरिएको थियो । कोहलपुरमा सञ्चालन गरिएको प्रतियोगिताबाट नेपालगन्जमा हुने जिल्लास्तरीय वक्तृत्वकलाका लागि सहभागी छनोट गरिएको प्याब्सन कोहलपुरका सचिव रमेश केसीले जानकारी दिए ।
केही दिनपछि प्याब्सनको आयोजनामा नेपालगन्जमा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता हुने छ । उक्त प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार, द्वितियलाई सात हजार र तृतीय स्थान प्राप्त गर्नेलाई नगद पाँच हजार र प्रमाणपत्र दिइने प्याब्सन बाँकेले जनाएको छ ।
प्याब्सन कोहलपुरका अध्यक्ष गोविन्द सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा प्याब्सन बाँके अध्यक्ष यम रावत, क्रिशा कोहलपुरका अध्यक्ष दिनेश सिग्देल र विभिन्न विद्यालयका शिक्षक विद्यार्थीलगायतको सहभागिता थियो ।








प्रतिक्रिया दिनुहोस्