बाँके ।
कोहलपुर क्षेत्रबाट लागुऔषध ब्राउनसुगरको पुडियासहित कोहलपुर प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । बिक्रीका लागि तयार पारिएको पुडियासहित प्रहरीले छुट्टाछुट्टै स्थानबाट दुईजनालाई लागुऔषध कारोबारीलाई पक्राउ गरेको हो ।
२३ वटा प्लास्टिकको पुडियामा राखिएको ब्राउनसुगरसहित पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–१ कौशिलानगरका २६ वर्षीय जीवन लामिछाने रहेका छन् ।
ईलाका प्रहरी कार्यालय कोहलपुरको सादा पोसाकको टोलीले बैजनाथ–४ नौलापुरमा रहेको ससुरालीबाट उनीलाई पक्राउ गरेको हो । ‘ससुराली घरमा लागुऔषधको कारोबार गरिरहेको भन्ने सूचना हामीलाई आएको थियो,’ कोहलपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) ऐनबहादुर मल्लले भने, ‘छापा मार्दा ससुराली घरको कोठामा लुकाइराखेको अवस्थामा २३ पुडिया ब्राउनसुगर बरामद भयो ।’
प्लास्टिक हटाएर तौल गर्दा २३ पुडिया ब्राउनसुगर एक ग्राम नौ सय ५० मिलिग्राम रहेको कोहलपुर प्रहरीले जनाएको छ । यस्तै कोहलपुर नगरपालिका–८ पिपिरीबाट समेत प्रहरीले बिक्रीका लागि राखिएको ब्राउनसुगरसहित एक महिलालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा स्थानीय खगीसरा सुनार रहेको डिएसपी मल्लले मिसन टुडेलाई जानकारी दिए ।
घरको कोठामा रहेको ¥याकमा रहेको कपमा लुकाई राखेको अवस्थामा नौ पुडिया ब्राउनसुगर प्रहरीले फेला पारेको थियो । ‘अनुसन्धानबाट पक्राउ परेकी महिलाले घरबाटै लागुऔषधको कारोबार गर्ने खुलेको छ,’ डिएसपी मल्लले भने, ‘बिक्री गर्नको लागि पुडिया बनाएर राखेको अवस्थामा उनीलाई पक्राउ गर्न सफल भएका हौं ।’
प्लास्टिक हटाएर तौल गर्दा नौ पुडिया ब्राउनसुगर पाँच सय २० मिलिग्राम रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । सीमावर्ती भारतीय बजारबाट ल्याएर बिक्रीका लागि प्लास्टिकका पुडिया बनाएको अवस्थामा दुवैजनालाई पक्राउ गरिएको डिएसपी मल्लले बताए ।
‘भारतबाट यहाँ ल्याएर बिक्रीवितरणका लागि सानासाना प्लास्टिकका पुडिया बनाएको देखिन्छ,’ उनले भने, ‘व्यवस्थितरुपमै घरबाट साना पुडिया बनाएर बेचिरहेकै अवस्थामा उनीहरु पक्राउ परेका हुन् । सेवनकर्ताभन्दा पनि कारोबारीलाई नै हामीले अहिले नियन्त्रणमा लिने अभियान चलाएका छौं ।’
पक्राउ परेका दुवै लागुऔषध ब्राउनसुगर कारोबारीमाथि थप अनुसन्धान भइरहेको कोहलपुर प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्