मधुर पौडेल । बाँसगढी ।
बर्दियाको बाँसगढी नगरपालिका–२ स्थित लौहाखोला पुल समयावधिभन्दा पहिलानै निर्माण सम्पन्न भएको छ । नेपालगन्जको भैरव नारायणम् जेभीले सम्झौता अवधिभन्दा पहिलानै पुल निर्माण गरेको हो । सम्झौता समयभन्दा अगाडि नै पुल निर्माण सम्पन्न गरेपछि नगरपालिकाले निर्माण कम्पनी भैरव नारायण जेभीलाई सम्मानसमेत गरेको छ ।
२०७८ असोज २१ गते गतेदेखि निर्माण सुरु गरिएको पुल २०७९ कात्तिक ३० भित्र पूरा गर्ने सम्झौता छ । तर, लक्ष्यभन्दा तिव्र गतिमा काम सम्पन्न भई तोकिएको समयभन्दा चार महिनाअगावै पुल निर्माण सम्पन्न भएको ईञ्जिनियर बलराम पौडेलले जानकारी दिए ।
पुल निमार्ण सम्पन्न भएसँगै सञ्चालनमा समेत आएको छ । उक्त पुलको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । नगर प्रमुख खडकबबहादुर खड्का, निवर्तमान नगर प्रमुख शालिकराम अधिकारी र ८५ वर्षीय ज्ञानबहादुर शाहीले उक्त पुलको संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
यस पुलबाट नगरपालिका वडा नम्बर २ का ६ सय घरधुरीसँगै अन्य सर्वसाधारण लाभान्वित हुने छन् । लौहाखोला निर्मित पक्की पुल २५ मिटर लामो छ । स्थानीय ज्ञानबहादुर शाहीले बर्खाको समयमा पुल नहुँदा सास्ती हुने गरे पनि अब त्यो अन्त्य भएको बताए ।
‘पहिला खोलामा बाढी आउँदा ज्यान नै जोखिममा पारेर वारपार गर्नुपर्ने बाध्यता थियो । धेरैपटक बल्लबल्ल बाँचियो,’ उनले भने, ‘अहिले आएर पुल बनेपछि खुसी लागेको छ ।’ निर्माण कम्पनीका प्रतिनिधि सन्तोष रेग्मीले सबैको साथ सहयोगले निर्धारित समयभन्दा अघि नै पुल निर्माण भएको बताए ।
‘जनप्रतिनिधि, स्थानीयलगायत सबैको साथ सहयोग हुँदा काम गर्न सहज भयो,’ उनले भने, ‘सोही कारण निर्धारित समयभन्दा अगाडि नै काम सम्पन्न भएको हो ।’ बाँसगढी नगरपालिकाका निवर्तमान प्रमुख शालिकराम अधिकारीले पुल अभावमा गर्भवती, अशक्त, बिरामीलाई पहिला जुन समस्या हुन्थ्यो अब त्यो समाप्त भएको बताए ।
‘पुल नहुँदा अस्पताल पु¥याउन नसकेर अकालमा मृत्यु हुने नियतिबाट अब स्थानीय मुक्त भएका छन्,’ उनले भने, ‘वर्षौंदेखि वर्षायाममा यस भेगका बासिन्दाले निकै कष्टकर ढंगले यात्रा गर्नुप¥यो । अब ती दुःख सकिएका छन् ।’
बाँसगढी नगरपालिका प्रमुख खड्कबहादुर खड्काले पुल निर्माणपछि यस भेगको आर्थिक, सामाजिकलगायत क्षेत्रले चाँडै विकासको फड्को मार्ने दाबी गरे । उनले अब नगरपालिकाले भौतिक निर्माणलाई प्राथमिकतामा राखी समयमा नै निर्माण सक्नेगरी गुणस्तरीय काम गर्ने प्रतिबद्धता जनाए ।
निर्धारित समयभन्दा अघि नै पुल निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधिलाई खादा मालाले सम्मान गरिएको वडा नम्बर २ का अध्यक्ष अर्जुन खड्काले जानकारी दिए । ‘समयमै पुल निर्माण नभएको भए वडावासीले यो बर्खामा पनि दुख पाउने थिए,’ उनले भने, ‘पुल निर्धारित समयभन्दा पहिला बनेसँगै बर्खामा वडावासीले पाउँदै आएको समस्या हटेको छ ।’









प्रतिक्रिया दिनुहोस्