बाँकेमा मनाइयो धान दिवस



कविन्द्र परियार । कोहलपुर ।

‘धानबालीमा विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ बुधबार बाँकेमा १९औँ राष्ट्रिय धान दिवस मनाइएको छ । जिल्लाका आठवटै पालिकामा धान रोपाइँ दिवस मनाइएको हो ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले राष्ट्रिय कार्यक्रमअन्तर्गत विविध कार्यक्रमको आयोजना गरेर जिल्लाभरि धान दिवस मनाइएको जनाए ।

दिवसका अवसरमा बैजनाथ गाउँपालिकामा वडा नम्बर ३ मा धान रोपाइँ महोत्सवको आयोजना गरेर धान दिवस मनाइएको छ । बैजनाथ गाउँपालिका कृषि शाखाको आयोजना तथा मिलिजुली कृषक समूह तथा प्रगति आइपिएम कृषक समूह नौवस्ताको सहआयोजना तथा व्यस्थापनमा धान रोपाइँ महोत्सव सञ्चालन गरिएको हो ।

उक्त रोपाइँ महोत्सवमा बोल्दै बैजनाथा गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले बैजनाथमा ७० प्रतिशत मानिस कृषि पेसा आबद्ध भएको बताए । साथै उनले करिब ६ करोड रुपैयाँ कृषि क्षेत्रमा विनिजयोजन गरिएको बताए । उनले नक्कली किसान बनेर फाइदा लिने प्रवृतिको अन्त्य गरी अबदेखि वास्तविक किसानलाई पहिचान गरी राहत तथा अनुदान दिइने समेत बताए ।

त्यस्तै राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ भवानीयापुरमा हिले दौड, हिले रोपाइँ गरी दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र बाँकेको आयोजना तथा साकार कृषि सहकारी संस्था राप्तीसोनारीको व्यस्थापनमा सञ्चालन गरिएको उक्त कार्यक्रममा राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुको उपस्थिति थियो ।

त्यस्तै दिवसका अवसरमा कोहलपुर नगरपालिका वडा नम्बर २ मा पनि रोपाइँ महोत्सवको आयोजना गरिएको छ । कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख संगीता सुवेदीको रोपाइँ महोत्सवमा सहभागिता थियो ।

त्यस्तै जिल्लाको खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिमा विविध कार्यक्रमको आयोजना गरी धान दिवस मनाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार १६ गते बिहीबार