सिँचाइ नहुँदा बर्दियामा २५ प्रतिशत रोपाइँ



बाँके ।

आधा असार सकिँदा बर्दिया जिल्लामा करिब २५ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाले दिएको जानकारीअनुसार करिब २५ प्रतिशत मात्र धान रोपाइँ भएको हो । धानको ब्याड राख्दा र अहिले रोप्ने बेलामा पानी नपर्दा ढिला गरी धान रोपाइँ सुरु भएको बताइएको छ ।

कार्यालयका प्रमुख विनोद घिमिरेले मंगलबार साँझसम्मको तथ्यांकअनुसार २४.७ प्रतिशत धान रोपाइँ भएको जानकारी दिए । ‘धान उत्पादन हुने कुल क्षेत्रमध्ये असार १५ गतेसम्म २५ प्रतिशत बढीमा धान रोपाइँ भइसकेको हुनुपर्छ,’ उनले भने, ‘बुधबारदेखि पानी पर्न सुरु गरेकाले अहिले जिल्लाभरि नै धान रोपाइँ धमाधम चलिरहेको छ ।

केही दिनमै यो प्रतिशत बढ्नसक्छ ।’ जिल्लामा गत वर्ष असार १५ गतेसम्म ३० प्रतिशत बढी क्षेत्रफलमा धान रोपाइँ सकिएको थियो । बर्दियाको कुल ५० हजार दुई सय ५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाले जनाएको छ ।

त्यसमध्ये मंगलबार साँझसम्म १२ हजार चार सय बढी हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको थियो । सिँचाइको सुविधा भएको क्षेत्रमा ५० प्रतिशतभन्दा बढी धान रोपाइँ भइसकेको कार्यालय प्रमुख घिमिरेले जानकारी दिए ।

‘सिँचाइको सुविधा भएको राजापुर र गेरुवामा ५०/५५ प्रतिशतभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ,’ उनले भने, ‘अन्यमा भने ५/१० प्रतिशतमात्र रोपाइँ भएको छ ।

समग्र प्रतिशत निकाल्दा जिल्लाभरि २५ प्रतिशत देखिएको हो ।’ पानी पर्न सुरु भइसकेकोले अहिले धान रोपाइँ जिल्लामा धमाधम चलिरहेको बताइएको छ । ‘मंगलबार साँझबाट पानी गर्न थालेपछि हामीलाई राहत भएको छ,’ बाँसगढीका किसान सीताराम थारुले भने, ‘पानी नपर्दा धान रोप्न ढिलो भएको थियो । पानी परेसँगै रोपाइँ सुरु भइसकेको छ ।’

  • No tags available
प्रकाशित मिति : २०७९ असार १६ गते बिहीबार