हवाईजहाजले नेपालगन्जबाट मान्छे मात्रै बोक्दैनन्, सागपातदेखि कार्टुनमा मासुसम्म, चिनीदेखि चामलसम्म, फलामका छडदेखि सिमेन्ट र पाइपसम्म हवाईजहाजले बोकेर लैजान्छन् । तर यति महŒवपूर्ण विमानस्थलमा कार्गाेलाई चेकजाँच गर्ने मेसिन छैन । प्रहरीले हातले छामेर र आँखाले हेरेर सामान पठाउने गर्छन् ।
नेपालगन्ज ।
कर्णाली प्रदेशका पहाडी र हिमाली जिल्लाका लागि हवाई मार्ग यात्राका लागि मात्रै नभइ सामान ढुवानीको पनि प्रमुख साधन हो । कर्णाली र सुदूरपश्चिका पाँच जिल्लामा नेपालगन्ज विमानस्थलबाट उडान हुन्छ ।
हवाईजहाजले नेपालगन्जबाट मान्छे मात्रै बोक्दैनन्, सागपातदेखि कार्टुनमा मासुसम्म, चिनीदेखि चामलसम्म, फलामका छडदेखि सिमेन्ट र पाइपसम्म हवाईजहाजले बोकेर लैजान्छन् । तर यति महŒवपूर्ण विमानस्थलमा कार्गाेलाई चेकजाँच गर्ने मेसिन छैन । प्रहरीले हातले छामेर र आँखाले हेरेर सामान पठाउने गर्छन् ।
यात्रुहरुका सामान चेकजाँच गर्न अहिले विमानस्थलको टर्मिनलमा मात्रै एउटा एक्स–रे मेसिन छ । कार्गाे पठाउने ठाउँमा भने प्रहरीले हातले छामेर र आँखाकै भरमा सामान चेकजाँच गरिरहेका छन् । विमानस्थलमा खटिएका एक प्रहरीले आफूहरुले सकेसम्म कडाइपूर्वक सामान जाँच गर्दै आए पनि मेसिन अत्यावश्यक रहेको बताए । ‘यहाँबाट धेरै सामान पहाडी जिल्लामा जान्छ । सबै सामान चेकजाँचमा मानवीय त्रुटि पनि हुनसक्छ । तर एक्स–रे मेसिन भयो भने सुरक्षाका हिसाबले पनि धेरै राम्रो हुने थियो,’ ती सुरक्षाकर्मीले भने ।
विमानस्थलमा भेटिएका एक व्यवसायीले कार्गाेको लागि अलग्गै टर्मिनल पनि हुनुपर्नेमा एक्स–रे मेसिन नै नहुनु दुःखद् भएको बताए । अलग्गै टर्मिनल भवन भएमा सेवाग्राहीलाई पनि सजिलो हुने उनले बताए । नेपालगन्ज विमानस्थलबाट भारतको दिल्लीसम्म सोझै हवाई उडान सञ्चालन गर्ने प्रयास भइरहेको छ । तर सुरक्षाका पर्याप्त साधनकै व्यवस्था हुन सकेको छैन ।
विमानस्थलको स्तरोन्नतिमा आएको बजेट नै खोसिइएको छ । चालू आर्थिक वर्षमा विमानस्थलको भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नति गर्न संघीय सरकारले तीन अर्ब रुपैयाँ विनियोजन गरेको थियो । त्यसबाट विमानस्थल सुधारअन्तर्गत नयाँ कन्ट्रोल टावर र कार्गो टर्मिनल भवन निर्माण गर्ने पनि लक्ष्य थियो ।
तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले योजना कार्यान्वयन गर्ने बेलामा बजेट नै खोसिदिएको थियो । २०३७ सालमा निर्माण गरिएको नेपालगन्ज विमानस्थल साँघुरो भएको भन्दै प्राधिकरणले स्तरोन्नतिका लागि अन्तर्राष्ट्रियस्तरकोे ठेक्कासमेत आहृवान गरिसकेको थियो ।
तर मन्त्रालयको दबाबमा प्राधिकरणले ठेक्का रद्द गरेर बजेटसमेत खोसिदिएपछि विमानस्थल सुधार कार्य रोकिएको छ । यदि उक्त बजेट कार्यान्वयन भएको भए विमानस्थलको सुरक्षा व्यवस्थामा पनि धेरै सुधार आउने अपेक्षा गरिएको थियो ।
यो विमानस्थलबाट दैनिक ५० देखि ६० वटा उडान हुँदै आएका छन् । मौसम सफा भएमा हप्तामा करिब २१ वटा कार्गाे उडान पनि हुने गरेका छन् । विमानस्थलमा कार्गाेको चेकजाँच र सुरक्षाको जिम्मा नेपाल प्रहरीको रहेकाले मेसिन जडान नहुन्जेलसम्म प्रहरीले चेकजाँचमा कुनै सम्झौता गर्न नहुने विमानस्थल प्रमुख सुवाष झा बताउँछन् ।
‘मेसिन नहुँदा सुरक्षा संवेदशीलतालाई बेवास्ता गर्ने भन्ने हुँदैन । प्रहरीले त्यसलाई ध्यानमा राखेर काम गरिरहेको छ,’ उनले भने । झाका अनुसार कार्गाेको जाँचका लागि मेसिन जडानको तयारी पनि भइरहेको छ । तर अहिले भएको मेसिन पनि यात्रु टर्मिनलमा भएको जस्तै हो ।
जसले ठूला सामानहरुको चेकजाँच गर्न नसकिने हुनसक्छ । त्यस्तो अवस्थालाई ध्यानमा राखेर आगामी आर्थिक वर्षमा ठूलो मेसिन जडानको लागि बजेट पनि छुट्याइएको आफूले जानकारी पाएको प्रमुख झाले जानकारी दिएका छन् ।
संवेदनशीलतालाई बेवास्ता गरेका छैनौं
सुभाष झा
प्रमुख, नेपालगन्ज विमानस्थल
विमानस्थलको क्षमता र चाप हेरि प्रविधि पनि त्यहीअनुसार व्यवस्था गर्नुपर्ने हुन्छ । अहिलेको अवस्थामा विमानस्थलमा कार्गाेको चेकजाँचका लागि मेसिनको आवश्यकता हामीले पनि महसुस गरेका छौँ । तर मेसिन नहुँदा सुरक्षा संवेदनशीलतालाई बेवास्ता गर्ने भन्ने हुँदैन । प्रहरीले त्यसलाई ध्यानमा राखेर काम गरिरहेका छौँ ।
मेसिन जडान नहुन्जेलसम्म प्रहरीले चेकजाँचमा कुनै सम्झौता गर्न हुँदैन । कार्गाेको जाँचका लागि मेसिन जडानको तयारी पनि भइरहेको छ । तर अहिले भएको मेसिन पनि यात्रु टर्मिनलमा भएको जस्तै हो । यसले ठूला सामानहरुको चेकजाँच गर्न नसकिने हुनसक्छ । त्यस्तो अवस्थालाई ध्यानमा राखेर आगामी आर्थिक वर्षमा ठूलो मेसिन जडानको लागि बजेट पनि छुट्याइएको जानकारी पाएको छुँ ।
सामान चेकजाँच गर्न चुनौती छ
श्यामकृष्ण अधिकारी
प्रमुख, जिल्ला प्रहरी कार्यालय बाँके
हामी समयानुसार चल्न सकेनौँ भने त्यो आफैँमा एउटा चुनौती हो । नयाँनयाँ आधुनिक प्रविधिको प्रयोग भइरहेका बेला अहिलेसम्म हामीले आधारभूत प्रविधि पनि प्रयोग गर्न सकिरहेका छैनौँ । नेपालगन्ज विमानस्थलको कार्गाे जाँचमा मान्छेले नै सबै काम गर्नुपरिहेको छ । मान्छेले कति भ्याउँछ र ? १० जनाले गर्ने काम एकै मेसिनले गर्न सक्छ ।
प्रविधि नभएकोले सुरक्षामा चुनौतीका साथै यात्रुहरुले पनि ढिलाइ भएको, झन्झटिलो भएको, सामान असुरक्षित भएको लगायतका गुनासाहरु गरिरहेका छन् । अब समयानुसार आधुनिक प्रविधिको जडान गरिनुपर्छ । त्यो अति आवश्यक भइसकेको छ ।









प्रतिक्रिया दिनुहोस्