ढकेरीमा डुबानबाट जोगिन नाली सफाइ



कोहलपुर ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ मा सडकका नाली सफाइ गर्न थालिएको छ । वर्षायाम सुरु हुनै लाग्दा यहाँका नाली सफाइ गर्न थालिएको हो ।

लामो समयदेखि सफाइ नहुँदा यहाँका नाली थुनिकएका छन् । वर्षामा पानी जम्ने हुँदा नालीको सफाइ गरिएको वडा नम्बर ९ ले जनाएको वडाध्यक्ष सोहनलाल थारुले बताए ।

पानी थुनिएर डुबान बढ्ने सक्ने भएकाले वडाभित्र रहेका नाली निमार्ण तथा सफाइलाई तिव्रता दिएको उनले बताए । यहाँका ढकेरी तथा पेट्रोल पम्प बजार क्षेत्रमा रहेका नाली सफाई गरिएको छ ।

ढकेरीको बैंकटेश्वर मन्दिरदेखि सिक्टा सिँचाइ आयोजनाको नहरसम्म नाली सफाइ गरिएको छ भने वडा कार्यालयको पहल र सडक डिभिजन कार्यालयको सहयागेमा पेट्रोल पम्प बजारमा करिब ८ सय मिटर पक्की नाली निमार्ण भइरहेको छ ।

त्यस्तै वडाध्यक्षको थारुको पहलमा गेरुवानाला तथा पेट्रोल पम्प बजारको नाली जेसिबी लगाएर सफाइ गरिएको छ । यहाँ बर्सेनि चुकेनाला र भक्ताखोलाबाट आउने बाढीको कारण ढकेरी र पेट्रोल पम्प बजारमा डुबान हुने गरेको छ ।

ढल र नालामा फोहोर थुप्रिएर पानीको निकास नहुँदा स्थानीयवासीले सास्ती खेप्नु परेकाले केही ठाउँमा दैनिक ज्यालादारीमा जनशक्ति परिचालन गरेर र केही ठाउँमा जेसिबीमार्फत् सरसफाइको काम सुरु गरिएको वडा कार्यालयले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार ७ गते मंगलबार