बाँके ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लाहानु थारुसहित चारजनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ ।
आयोगले राजापुर नगरपालिका–७ मा रहेको भालुफाँटा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष थारुसहित चारजनाविरुद्ध सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेकोसम्बन्धी आरोपमा मुद्दा दायर गरेको हो ।
चारजनाविरूद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उपभोक्ता समूहले गैह्रकाष्ठ वन पैदावार संकलन भई टेण्डर प्रक्रियाबमोजिम सुरुची ट्रेड एण्ड सप्लायर्स मगरागाडी–२ बर्दियालाई स्वीकृत गरी स्वीकृत भएबमोजिम लिलाम बिक्री भई आम्दानी रकम अनियमितता गरेको आयोगको आरोप छ ।
उक्त निवेदन सम्बन्धमा अनुसन्धान हुँदा भालुफाँटा सामुदायिक वन उपभोक्ता समूह, राजापुर–७ बर्दियाका पदाधिकारी अध्यक्ष लाहानु थारु, तत्कालीन सचिव सोहन प्यारी थारु र तत्कालीन कोषाध्यक्ष राधेश्याम थारुले भालुफाँटा सामुदायिक वन उपभोक्ता समूह बर्दियाले आर्थिक वर्ष २०७४/०७५ मा गैह्रकाष्ठ वन पैदावार बेत संकलन गरी लिलाम बिक्रीबाट समूहको खातामा जम्मा भएको रकम तुरुन्तै चेकबाट रकम दाखिला गर्नेलाई नै फिर्ता दिई दुई लाख ७८ हजार रुपैयाँ सार्वजनिक सम्पत्ति हिनामिना हानीनोक्सानी गरी भ्रष्टाचार गरेको आयोगले जनाएको छ ।
उक्त रकम बराबरको बिगो मागदाबी गरिएको छ ।
यसैगरी सुरुची ट्रेड एण्ड सप्लायर्स, मगरागढी बर्दियाका प्रोपाइटर पारस गौतमले भालुफाँटा सामुदायिक वन उपभोक्ता समूह, बर्दियाको २०७४/०७५ मा गैह्रकाष्ठ वन पैदावार बेत लिलाम सकार गरी सोबापत जम्मा गरेको रकम समूहका पदाधिकारीलाई प्रलोभनमा पारेर मिलोमतोमा चेक काट्न लगाई समूहको खाताबाट रकम निकाली दुई लाख ७८ हजार रुपैयाँ हिनामिना गरेको आयोगको आरोप छ ।









प्रतिक्रिया दिनुहोस्