16 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

मुख्यमन्त्री पोखरेलले भने, छानबिन गरी दोषीमाथि कारबाही हुन्छ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ १४, २०७८  

नेपालगन्ज ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणका घटनामा निष्पक्ष छानबिन गरिने र दोषीलाई कारबाही गरिने प्रतिबद्धता जनाउनु भएको छ।

‘बाँकेको भेरी अस्पतालमा घटेको दुःखद घटनाका सन्दर्भमा गम्भीर  ध्यानाकर्षण भएको छ। निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनेछ’ आज बिहान ट्वीट गर्दै मुख्यमन्त्री पोखरेलले भन्नु भएको छ ।

गत जेठ ४ गते अस्पतालमा भर्ना भएका दाङका कोरोना सङ्क्रमित बिरामी अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गएराति करिब ८ बजे मृत्यु भएपछि स्वास्थ्यकर्मीको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै आफन्तले आक्रमण गरेको चिकित्सकहरुको भनाइ छ ।

अस्पतालका मेसु डा प्रकाश थापाका अनुसार मृतकका आफन्तले भेन्टिलेटरमा राखेका कारण बिरामीको मृत्यु भएको भन्दै डा चन्द्रप्रकाश साहु र नर्सहरू अस्मिनी गुरुङ, बन्दना श्रेष्ठ र सदीक्षा गैरैमाथि हातपात गरेका हुन्।

मृतकका छोरा र दुई भाइले ड्युटीमा रहेका चिकित्सक साहु र नर्समाथि हातपातको प्रयास गरेपछि तनाव भएको थियो। बिरामीको अवस्था गम्भीर रहेकाले चिकित्सकले भेन्टिलेटरमा राखेर बचाउने प्रयत्न गर्दागर्दै बिरामीको ज्यान गएको उहाँको भनाइ छ।

बिरामीको मृत्युपछि आक्रोशित आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आइसीयूकक्षमा तोडफोड गरेका छन्।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ १४, २०७८     1:28:38 PM  |