नेपालगञ्ज ।
बाँके जिल्लामा छुटेकाहरुलाई कोभिडविरुद्धको दोस्रो डोज खोप आज र भोली लगाइने भएको छ । पहिलो डोज लगाएर खोपको दोस्रो डोज लगाउन छुटेकाहरुलाई आज र भोली लगाइने भएको हो । यसको लागि सम्पूर्ण तयारी पूरा भइसकेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । बाँकेमा ९ हजार ८ सय ३३ जनाले पहिलो डोज खोप लगाएका थिए ।
त्यसमध्येमा १ हजार ९०२ जना दोस्रो डोज लगाउन छुटेको स्वास्थ्य कार्यालय बाँकेका जनक गिरीले जानकारी दिए । आज र भोली स्वास्थ्य कार्यालयले नेपालगञ्ज हेल्थ पोष्टमा छुटेका सबैलाई दोस्रो डोजको खोप लगाउने उनले बताए । ‘दोस्रो चरणको खोप लगाउन छुटेका एक हजार ९०२ जनालाई नै १३ र १४ गते खोप लगाउँछौँ,’ गिरीले भने, ‘दोस्रो डोज लगाउन छुटेका सबै जना नेपालगञ्ज हेल्थ पोष्टमा आउन सक्नुहुन्छ ।’
छुटेकामध्ये मंगलबार जिल्लामा नेपाल प्रहरी र नेपाली सेनालाई कोभिडविरुद्धको दोस्रो डोज खोप लगाइएको थियो । २०७७ फाल्गुन २३ गते अगाडि पहिलो डोज लगाएका प्रहरी र सेनालाई दोस्रो डोज लगाएका थिए । स्वास्थ्य कार्यालयका गिरीका अनुसार, दुई सय ९० जना प्रहरी र ६० जना सेनालाई दोस्रो चरणको खोप लगाइएको थियो ।
स्वास्थ्य कार्यालयका कर्मचारीले जिल्ला प्रहरी कार्यालय र राँझास्थित आर्मी ब्यारेकमा गएर खोप लगाइदिएका हुन् । बाँकेमा कोरोना हटस्पट बन्दा खोप लगाएका व्यक्तिमा कम असर देखिएको स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन् ।









प्रतिक्रिया दिनुहोस्