9 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

दाङमा लकडाउनमा समयमा गाडी चोरी बढ्यो, प्रहरी नै अन्योलमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ १०, २०७८  

दाङ – दाङमा वैशाख १७ गतेदेखि लकडाउन जारी छ। यो अवधिमा घोराही क्षेत्रबाट मात्रै तीन वटा गाडी चोरी भइसकेका छन्। जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द्रप्रसाद रिजालका अनुसार चोरी भएका तीनवटै बोलेरो गाडी देशका विभिन्न स्थानबाट बरामद भइसकेका छन्।

घोराहीबाट चोरी गरी लगेको एउटा गाडी रौतहटमा र अर्को गाडी केही दिन पहिले कपिलवस्तुको चन्द्रौटामा फेला परेको डिएसपी रिजालले बताए।
त्यस्तै, अर्को एउटा गाडी तुलसीपुरको बिजौरीमा फेला परेको उनले बताए। लमही क्षेत्रमा पनि गाडी चोरहरूको बिगबिगी छ।

वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक राजन पौडेलका अनुसार यो बीचमा चोरी भएका दुई वटा गाडी फेला परेका छन्।
प्रारम्भिक अनुसन्धानका आधारमा गाडी चोरी गर्ने व्यक्ति एउटैजस्तो देखिन आएको पौडेलले बताए।

‘बाँकेको गाडी लमही र लमहीको गाडी चोरी गरी बाँके लगेर छोडेको देखिन्छ,’ उनले भने, ‘एक ठाउँको गाडी अर्को ठाउँ र अर्को ठाउँका गाडी त्यो ठाउँमा लगेर छोड्नुको कारण हामीले खोजी गरिरहेका छौं।’पछिल्लो समय वैशाख ४ गते लमहीबाट अर्को एउटा बोलेरो गाडी चोरी भएको छ।

भे१त १५२६ नम्बरको उक्त गाडी लमही नगरपालिका वडा नं. ५ स्थित लमही बजारको पूर्व-पश्चिम राजमार्गस्थित घर अगाडि पार्किङ गरी राखेको अवस्थामा चोरी भएको हो।
गाडी धनी विजय केसीका अनुसार एक महिना अगाडि मात्रै खरिद गरेको गाडी चोरी भएको हो । सिसिटिभी फुटेजमा एक जना युवाले गाडी चोरी गरी लगेको स्पष्ट देखिएको प्रहरीले जनाएको छ। उनको तस्बिर पनि प्रहरीले सार्वजनिक गरेको छ।

‘मेरो गाडी वैशाख ४ गते राति १२:३८ बजे चोरी भएको फुटेजमा देखिन्छ,’ केसीले भने, ‘गाडी चोर्ने व्यक्तिले राजमार्गबाट पश्चिम बाँकेतर्फ लगेको देखिएको छ।’उनले आफ्नो गाडी लक गरी पार्किङमा राखेका थिए। पार्किङस्थलमा एउटा सानो सिसाको टुक्राबाहेक अरु कुनै पनि सामान फेला नपरेको केसीले बताए।

वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक पौडेलले घटनाबारे अनुसन्धान जारी रहेको भए पनि हालसम्म गाडी फेला पार्न नसकिएको बताए।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी रिजालले केही व्यक्तिहरूलाई शंकाको घेरामा राखिएको र प्रहरीले उनीहरूमाथि निगरानी बढाएको बताए।

लकडाउनको समयमा राजमार्गमा अघिपछि भन्दा प्रहरी प्रशासनको झनै कडा निगरानी रहँदारहँदै पनि कसरी ती गाडी दाङबाट चन्द्रौटा, रौतहट, बाँके जिल्लासम्म पुर्‍याउन सम्भव भनी प्रहरीले अनुसन्धान गरिरहेको छ।साभार सेतो पाटी

प्रकाशित मितिः सोमवार, जेष्ठ १०, २०७८     11:26:48 AM  |