7 September 2024  |   शनिबार, भदौ २२, २०८१

कोरोना कालमा फ्रन्टलाइनरका कथा, रातदिन ड्युटी गर्छन् स्वास्थ्यकर्मी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख १६, २०७८  

कोहलपुर ।

पसिनाले भिजेका हात, चिकित्सकको डे«समा छन् । काला दाह्री भएका व्यक्तिले आफ्ना हात देखाइरहेका छन् । फोटो हेर्दा अस्पतालमा खिचिएको ठम्याउन गाह्रो पर्दैन । केहीदिनयता सामाजिक सञ्जाल फेसबुकमा यही फोटो राखेर कोरोनाबाट बच्न अपिल गर्नेहरु धेरै
देखिन्छन् ।

यही फोटो फेसबुकमा पोष्ट गर्दै नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय लेख्छन्,‘नेपालगन्ज मेडिकल कलेज कोहलपुरका डा. बिनोद प्याकुरेल ।उनी दैनिक १६ घण्टा कोभिड बिरामीको उपचारमा खटिदा हत्केला यस्तो भएको छ । सबै जिम्मवार बनौँ। तपाई हामीलाई जोगाउँदा जोगाउँदै डाक्टर नर्सहरूको जीवन जोखिममा नपारौँ । बिरामी नै नहोऔँ ।’

यो फोटो तीनै डाक्टर प्याकुरेलको हो । उनी कोभिड वार्ड १६ भण्टा ड्युटी गर्छन् । भोक, प्यास र निद्रा नभनी कोरोना संक्रमितको उपचारमा खटिएका उनी अहिले आफै संक्रमित बनेका छन् । उनको कार्यको उच्च सम्मान गर्दै सामाजिक सञ्जालमा नविन चौलागाई कोरोना महामारीको समयमा प्याकुरेल जस्ता सयौ डाक्टरको प्रंशसा गर्नुपर्ने बताउँछन् ।

कोरोनाको हटस्पट बनिरहेको बाँकेका विभिन्न अस्पतालमा अहिले स्वास्थ्यकर्मी तथा चिकित्सक २४ घण्टासम्म ड्युटीमा खटिरहेका छन । भेरी अस्पतालका डाक्टर राजन पाण्डे अस्पतालमा बिरामीको चाप निकै बढिरहेको बताउँछन् । उनका अनुसार भेरी अस्पातमा दैनिक कोरोना संक्रमित थपिने क्रममा जारी छ ।

मंगलबारसम्म भेरी अस्पतालमा २ जना कोरोनाका सक्रिय संक्रमितको उपचार भइरहेको थियो । यस्तै आइसियू र भेन्टिलेटरमा उपचार गराउनेहरुको संख्या समेत बढ्दो छ । बाँकेमा कोरोना संक्रमित दैनिक सयौको संख्यामा बढिरहेका छन् । दैनिक कोरोना संक्रमण बढ्दो क्रममा रहेकोले अस्पतालमा चिकित्सकको अभाव खड्किएको छ ।

जिल्लाको भेरी अस्पतालमा मात्रै ७३ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भइसकेका छन् । भने नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा समेत ३० जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भइसकेका छन् । भेरी अस्पतालका मेसु डा. प्रकाश थापाले बेड नपुगेर भुई मै बिरामीको उपचार गर्नुपर्ने अवस्था रहेको जानकारी दिए ।

कोहलपुर नगरपालिकाद्धारा सञ्चालित कोभिड अस्पतालका डाक्टर सन्तोष बिसी कोहलपुरमा आफू एक्लै १६ जना संक्रमितको उपचारमा २४ घण्टा ड्युटीमा खटिएको बताए । उनका अनुसार कोहलपुरमा पनि दैनिक कोरोना संक्रमित बढ्दै गएका छन् । ‘म रात दिन यहाँ खटिएको छु । गम्भीर लक्षण सहितका संक्रमित आउने क्रम बढ्दो छ । आफ्नो स्वास्थ्य नै जोखिममा राखेर हामी खटिरहेका छौ ।’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने ।

कोहलपुरबाट दैनिक संक्रमित अन्य अस्पतालमा रिफर गर्नुपर्छ । तर अन्य अस्पतालमा बेड नभएर होल्ड गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।कोहलपुरमा अहिले कुल २९ कोरोना संक्रमित उपचाररत छन् । यहाँबाट भेरी र कोललपुर अस्पतालमा बेड नपुग रहेको मात्रै
सुन्ने सुनिन्छ ।

उनले अगाडि भने, ‘कोरोना संक्रमितका आफन्त फोन गर्नुहुन्छ ।भर्ना गरिदिन भन्नुहुन्छ । रोइकराई गर्नुहुन्छ । हामीसँग उहाँहरुको प्रश्नको उत्तर छैन । हामी सुनेपनि नसुने जस्तै गर्नुपर्ने अवस्था छ ।’अहिले नेपालगन्ज मेडिकल कलेज कोहलपुर र भेरी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी कोरोना संक्रमित हुँदा कोरोना रोकथामको यात्रामा समस्या आउन थालेको छ । भेरी अस्पतालले ८० जना स्वास्थ्यकर्मी माग गरेको छ । कोहलपुर कोभिड अस्पतालमा समेत चिकित्सक थप्नुपर्ने माग भइरहेको छ ।

प्रकाशित मितिः बिहिबार, बैशाख १६, २०७८     9:15:22 AM  |