16 September 2024  |   मङ्लबार, अशोज १, २०८१

आगलागीबाट अर्बौको क्षति

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख १०, २०७८  

सुर्खेत ।

कर्णाली प्रदेशमा आगलागीबाट अर्बौको क्षति हुने गरेको छ । हरेक वर्ष सुक्खायाममा हुने आगलागीका कारण अर्बौको क्षति हुने गरेको हो । पछिल्लो ९ महिनामा कर्णालीमा भएका विभिन्न आगलागीबाट करिब १ अर्ब ७१ करोड क्षति भएको छ । चालू आर्थिक वर्ष २०७७÷७८ को चैत मसान्तसम्म कर्णालीमा आगलागीबाट १ अर्ब ७१ करोड १९ लाख बढी क्षति भएको प्रहरीले जनाएको छ ।

उक्त अवधीमा आगलागीमा परेर ९ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार आगलागीबाट १ अर्ब ७१ करोड बराबरको भौतिक अन्नपात, लत्ताकपडा, भाडावर्तनको क्षती भएको छ । यो अवधिमा कालीकोटमा ६, सुर्खेतमा २ तथा रुकुम (पश्चिम), सल्यान र मुगुमा १÷१ जना गरी ९ जनाको मृत्यु भएको थियो । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार आगलागीका घटनामा परेर चैत्र अन्तिमसम्म १५ जना घाइते भएका थिए । साथै करिब ४ सय ५० जती पशुचौपायाको क्षति भएको छ ।

आर्थिक क्षतिको तथ्यांक हेर्दा कर्णालीका १० जिल्ला मध्ये जुम्लामा सबैभन्दा बढी क्षति भएको देखिन्छ । त्यस्तै आगलागीबाट सुर्खेतमा २ करोड ५६ लाख १६ हजार, दैलेखमा १ करोड ३५ लाख ८ हजार, जाजरकोटमा ८१ लाख ४६ हजार, सल्यानमा ४७ लाख ३८ हजार, रुकुम पश्चिममा ३३ लाख ९४ हजार, कालिकोटमा ६५ लाख ७८ हजारको क्षती भएको छ ।

साथै, मुगुमा ३३ लाख ३५ हजार, डोल्पामा ११ लाख ७२ हजार र हुम्लामा ८७ लाख २१ हजार रुपैयाँ बराबरको क्षति भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अर्जुन चन्द ठकुरीले जानकारी दिए । उनले भने, ‘यो वर्ष त्यति हिमपात र वर्षा नभएकाले आगलागीका घटना बढेका हुन् । मान्छेकै लापरबाहीको कारण आगलागीका अधिकांश घटना भएको देखिन्छ । अझै पर्याप्त वर्षात नभएकोले सचेत रहन आवश्यक छ ।’

प्रकाशित मितिः शुक्रबार, बैशाख १०, २०७८     10:31:35 AM  |