कोहलपुर ।
बाँके जिल्लाको कोहलपुर नगरपालिका क्षेत्रका सरोकारवालाले अझै कोरोना नियन्त्रणमा स्थानीय सरकारले चासो नदिए कडा खालको लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन् । बिहीबार नगर कार्यपालिकाको हलमा सम्पन्न सर्वपक्षीय बैठकमा सहभागी सरोकारवाला निकायहरुले कोहलपुरमा कोरोना संक्रमण दर बढ्दै गएको र समुदायस्तरमै फैलिसकेका कारण उच्च सतर्कता अपनाउनु पर्नेमा जोड दिएका हुन् ।
छिमेकी पालिकामा कोरोनाको स्थिति भयावह हुँदै गएपनि निषेधाज्ञा नै गर्नु परेको भन्दै कोहलपुरमा स्थानीय सरकार क्रियाशिल भएर उच्च सतर्कता अपनाउनुपर्ने आएको उनीहरुको भनाई थियो । दैनिक कोरोनाको कहर बढ्दै गएपछि नेपालगञ्ज उप–महानगरपालिकामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोहलपुरमा पनि लकडाउनको विकल्प नरहेको उनीहरुको भनाई छ ।
बैठकमा कोहलपुर कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै केही महत्वपूर्ण निर्णय गरिएको नगरप्रमुख लुटबहादुर रावतले जानकारी दिए । उनका अनुसार एकसातादेखि बन्द अवस्थामा रहेका विद्यालय थप एकसाता बन्द गरिनेछ । अबको एकसाताको अवधिलाई विद्यार्थीहरुलाई परीक्षा तयारीको लागि बिदाका रुपमा सम्पूर्णलाई पत्राचार गर्ने निर्णय भएको उनले बताए । ‘विद्यालय थप एक साता बन्द हुन्छन् । त्यो अवधीमा विद्यार्थीले परीक्षाको तयारी गर्छन् ।
विद्यालयले परीक्षाको व्यवस्थापन र शिक्षा शाखाले प्रश्नपत्र निर्माण लगायतका काम गर्छ । त्यसपछि कोहलपुरमा संक्रमण दरलाई मध्यनजर गरेर परीक्षाको मिति तोकिनेछ ।’ प्रमुख रावतले भने । यस्तै कोरोना संक्रमणबाट जोगिनको लागि प्रचारप्रसार र जनचेतनामुलक गतिविधिलाई तिव्रता दिइने भएको छ । यस्तै कोहलपुरका हरेक व्यवसाय पसल तथा चोकचोकमा प्रहरी, कोहलपुर उद्योग वाणिज्य संघ र कोहलपुर नगरपालिकाको संयुक्त पहल तथा निगरानीमा तपाईको मास्क खोई ? भन्ने अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ ।
नगर प्रमुख रावतले कोहलपुर उद्योग वाणिज्य संघलाई उक्त अभियानका लागि आधिकारिक रुपमा निर्णय गरेरै अघि बढ्न आग्रह गरेका थिए । कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले कोरोना संक्रमणको जोखिमबाट बच्नको लागि अभियान नै सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार कोहलपुरका हरेक पसल तथा व्यवसायमा अनिवार्य मास्कको व्यवस्था गर्न संघ गम्भीर छ ।
सोही अनुसार आफूले आजकै मितिदेखि पत्राचार गर्ने उनले बताएका हुन् । यस्तै उक्त अवसरमा सहभागी राजनीतिक दलहरुले भने दलका सबै गतिविधि आफूहरुले रोकिसकेको भन्दै विवाह भोज भतेर लगायतका गतिविधिमा कडाई गर्नुपर्ने बताएका छन् । यस्तै बैंक तथा वित्तीय संस्था, यातायात क्षेत्रमा पनि विशेष सावधानी अपनाउने विषयमा व्यापक छलफल भएको थियो ।
उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले एम्बुलेन्स, कोरोना नियन्त्रण सामग्री जनशक्ति परिचालन तथा अन्य खर्चको लागि आगामी असार मसान्तसम्मको अनुमानित खर्च प्रस्तुत गरेका थिए । यता नगर स्वास्थ्य शाखाले भने कोहलपुर कोरोना संक्रमणको उच्च जोखिममा रहेको बताएको छ ।
नगर स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीका अनुसार कोहलपुरमा दैनिक कोरोना संक्रमण दर बढिरहेको छ । बिहीबार मात्रै ५६ जना नयाँ कोरोना संक्रमित थपिएको उनको भनाइ छ । नगरपालिकाले अहिले ५ शैयाको अस्पतालमा सञ्चालनमा ल्याएको उनको भनाइ छ । यस्तै कोहलपुरमा २ सय जना बढी संक्रमित पुगेमा अनिवार्य लकडाउन हुने पनि बताए । उक्त बैठकले कोरोना नियन्त्रणका लागि सबै संयन्त्रहरुलाई सक्रिय रुपमा परिचालन गर्नुेपर्नेमा जोड दिएको थियो ।