16 September 2024  |   मङ्लबार, अशोज १, २०८१

बाँकेमा अब गम्भीर संक्रमितलाई मात्र अस्पताल भर्ना गरिने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख ८, २०७८  

कोहलपुर ।

बाँकेमा रहेका अस्पतालका कोभिड वार्डमा अब गम्भीर खालका कोरोना संक्रमितलाई मात्र भर्ना गरिने भएको छ । अस्पतालमा कोरोना संक्रमित बिरामीका लागि छुट्याइएका कोभिड वार्ड भरिन थालेपछि यस्तो निर्णय गरिएको हो ।

अहिले कोरोना संक्रमितहरुको उपचार भैरहेको नेपालगञ्ज स्थित भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोभिड वार्डका बेड करिब भरिभराउ भैसकेका छन् ।

त्यसका कारण अब गम्भीर प्रकृतिका र तत्काल अक्सिजन सपोर्ट तथा उपचार आवश्यक पर्ने बिरामीहरलाई मात्र अस्पतालमा भर्ना लिइने भएको हो ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेको मंगलबार बसेको बैठकले कोरोना भाइरस संक्रमित तर लक्षण नभएका, सामान्य लक्षण भएका बिरामीहरुलाई स्थानिय तहका स्वास्थ्यकर्मीहरुको निगरानीमा जनस्वास्थ्यका मापदण्ड पूरा गर्नेगरी होम आइसोलेसनमा बसाउने निर्णय गरेको थियो ।

होम आइसोलेसनमा बस्ने मापदण्ड नपुग्ने कोभिड संक्रमितहरुलाई स्थानिय तहबाट निर्माण र सञ्चालन गरिएका आइसोलेसनमा राख्ने निर्णय भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

‘पैसा तिरेर बस्न सक्नेहरुका लागि बिगतझै उपयुक्त व्यवस्था तथा मापदण्ड पुगेको होटलमा पेड आइसोलेसनको व्यवस्था गर्ने निर्णय समेत भएको छ’ उनले भने, ‘यसको व्यवस्थापन तत्काल गरिनेछ ।’ जिल्लाका अस्पतालहरुले छुट्याएका कोभिड वार्डका बेडहरु लगभग भरिसकिएको भन्दै उनले अब गम्भीर संक्रमितलाई मात्र भर्ना गर्नुपर्ने अवस्था आएको बताए ।

बैठकले सीमा नाका बन्दलाई अझै प्रभावकारी बनाउने, कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक मेडिकल साम्रगी खरिद गर्ने, माथिल्लो निकायसँग आर्थिक माग गर्ने, स्थानीय तहहरुलाई आइसोलेसन निर्माणको लागि अनुरोध गर्ने लगायतका निर्णय गरेको थियो ।

प्रकाशित मितिः बुधबार, बैशाख ८, २०७८     9:19:22 AM  |